२०७९ चैत ६, काठमाडौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री भूपाल राईले भोजपुरमा आयोजित कार्यक्रममा सहभागी भई स्रष्टाहरूलाई यस वर्षको पहिचान पुरस्कार प्रदान गर्नुभयो ।
वि.सं. २०७२ सालमा स्थापित पहिचान पुरस्कार कोषले हरेक वर्ष प्रदान गर्दै आएको पहिचान पुरस्कार २०७९ चैत ४ गते भोजपुरको चखियामा आयोजित एक कार्यक्रमका बिच कविता राईको उपन्यास ‘गुरु’ र अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङद्वारा लिखित एवम् सङ्कलित ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ पुस्तकलाई संयुक्त रूपमा प्रदान गरिएको हो । सो अवसरमा कुलपति राईले पुरस्कृत स्रष्टाहरूलाई संयुक्त रूपमा चार लाख दुई हजार दुई रुपियाँ नगद राशिका साथ प्रशंसापत्र प्रदान गर्नुभयो । पुरस्कार प्रदान गर्दै कुलपति राईले एउटा अभियानबाट स्थापित पुरस्कार भएकाले यसको बेग्लै महत्त्व रहेको भन्दै पहिचानका पक्षमा कलम चलाइरहन स्रष्टाहरूलाई आग्रह गर्नुभयो । टेम्केडाँडा र मुन्धुम पथका काखमा रहेको चखियामा आएर पहिचान पुरस्कार प्रदान गर्न पाएकोमा कुलपति राईले खुसी व्यक्त गर्नुभयो ।
कोषले गत वर्षजस्तै यस पटक पनि चखियामा कार्यक्रम आयोजना गरेको हो । त्यसअघिका वर्षहरूमा काठमाडौँमै कार्यक्रम गरी पुरस्कार प्रदान गरिँदै आए पनि केन्द्रीकृत सोचमा विश्राम लगाउने उद्देश्यका साथ मोफसलमा कार्यक्रम गर्न थालिएको पहिचान पुरस्कार कोषका संस्थापक तथा कार्यक्रमका अध्यक्ष नरेश काङमाङ राईले बताउनुभयो । उक्त कार्यक्रममा सिर्जनशील अराजक अभियानका संस्थापक कवि हाङयुग अज्ञात, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् मातृभाषा विभाग प्रमुख राजन मुकारुङ, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य मुनाराज सेर्मा, ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चन्द्र रानाहँछालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
टेम्के मैयुङ गाउँपालिका वडा नम्बर ४, स्थानीय नवप्रतिभा युवा क्लब, चखिया व्यवस्थापन समिति र स्थानीयवासीको सक्रियतामा सञ्चालित उक्त कार्यक्रममा खोटाङ, भोजपुरलगायत काठमाडौँ, झापा, इलाम, धरान आदि क्षेत्रका लेखक तथा साहित्यकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जीवन किराँतीले गर्नुभएको थियो ।