काठमाडौँ ।नेपाल प्रज्ञा -प्रतिष्ठान सामाजिक शास्त्र विभागले ‘सामाजिक शास्त्र वार्षिक सङ्गोष्ठी -२०८१’ आयोजना गर्ने भएको छ।
यसमा ‘राजनीतिक परिवर्तन र नेपाली समाज’ भन्ने मूल विषयमा आगामी वर्ष -२०८१, जेठ १६ र १७ गते हुन लागेको सङ्गोष्ठीका लागि प्रज्ञा प्रतिष्ठानले शोधमूलक लेख/रचना आह्वान गरेको छ।

कुनै पनि समय परिवर्तनसँगै भएका राजनीतिक परिवर्तन तथा विकासका बारेमा भएका शोधमूलक कार्यलाई प्रोत्साहन गरी सहयोग गर्न र सामाजिक विज्ञानको क्षेत्रमा थप ज्ञान निर्माण गर्न सङ्गोष्ठी आयोजना गर्न लागिएको प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभागका प्रमुख डा. कौशिला रिसालले जानकारी दिनुभयो ।
यसै क्रममा डा. रिसालले सामाजिक शास्त्रका क्षेत्रमा अध्ययन, अनुसन्धानमूलक कार्य गरिरहेका तथा यस क्षेत्रमा थप अध्ययन गर्न चाहनेका लागि सङ्गोष्ठीले प्रोत्साहन पुग्ने विश्वास व्यक्त गर्नुभयो।
यस सङ्गोष्ठीमा भाग लिन चाहनेले इमेल मार्फत आउँदो वैशाख १५ गतेसम्म लेख रचना पठाइसक्नुपर्ने छ। लेख/रचना नेपाली भाषामा पठाउनुपर्ने छ भने यसअघि अन्यत्र प्रकाशन/ प्रसारण नभएको हुनुपर्दछ। शोधमूलक लेख/रचना तीन हजारदेखि चार हजार पाँच सय शब्दभित्रको हुनुपर्ने छ भने शोधकार्यमा आधारित हुनुपर्ने छ।