प्रज्ञा छापाखाना

प्रज्ञा छापाखाना प्रज्ञा छापाखाना

प्रज्ञा छापाखानाको परिचय र सञ्चालन

प्रज्ञा–प्रतिष्ठानले तयार गरे÷गराएका प्रकाशनहरू/पुस्तकहरू मुद्रित गरी उत्पादन गर्न एउटा सानो सुविधासम्पन्न छापाखाना अर्थात् अफसेट मुद्रणालयको सञ्चालन गरिँदै आएको छ । स्थापनाको प्रारम्भिक चरणमै एक सय पुस्तक प्रकाशन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको तत्कालीन नेपाल एकेडेमी अर्थात् हालको नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपालमा पर्याप्त छापाखानाको अभाव भएको, भएका छापाखानाबाट छपाइ हुन नसकेको, सामान्य पुस्तकहरू छाप्न पनि बनारस गइरहनुपर्ने र निजी छापाखानाहरूमा पुस्तक छपाउँदा कागज खरिद लगायतका कुरामा अप्ठेरो परेको महसुस गरी वि.सं. २०२८ सालदेखि आफ्नै स्वामित्वमा प्रज्ञा छापाखाना सञ्चालनमा ल्याएको हो ।
प्रज्ञा–प्रतिष्ठानका पूर्व प्रशासन प्रमुख एवम् वि.सं. २०२४ देखि २०२८ सालसम्मका लेखा प्रमुख तुलसीदास राजभण्डारीका अनुसार सुरुमा हाते प्रेस किनेर छपाइ प्रारम्भ गरिएको थियो । त्यसपछि भ्याएजति आफ्नै प्रज्ञा छापाखानामा र नभ्याएका पुस्तकहरू जति बाहिरका निजी छापाखानामा छाप्ने गरियो । वि.सं. २०२८ श्रावण ५ गते बुधवार बसेको प्रज्ञा–प्रतिष्ठानको बैठक नं.४९० ले प्रज्ञा–प्रतिष्ठान छापाखाना स्थापना गर्ने निर्णय गरेको र सोका लागि आवश्यक पर्ने मेसिन, सामान तथा कर्मचारीहरूबारे रायसहितको प्रतिवेदन दिन उपसमिति गठन गरेको थियो । उक्त उपसमितिको रायअनुसार छापाखानाको प्रबन्धक हुने व्यक्तिलाई उसको योग्यता हेरी मासिक रु. ६००।– देखि ९००।– सम्म तलब दिने, मेसिन, सामान र अन्य कर्मचारीहरू यथाशीघ्र जुटाई होस्टेल भवनको पूर्वपट्टि छुट्टै लङमा छापाखाना र त्यसमा काम गर्ने कर्मचारीहरूलाई राख्ने बन्दोबस्त गरी सकेसम्म चाँडो छाप्ने काम सुरु गर्ने भन्ने निर्णय वि.सं. २०२८ श्रावण २६ गते बुधवारको बैठक नं.४९२ ले गरेको उक्त बैठकको निर्णयपुस्तिकाको अभिलेख हेर्दा पुष्टि हुन्छ । प्रचार, प्रकाशन र छापाखानासम्बन्धी काम हेर्ने जिम्मेवारी प्रज्ञा प्रतिष्ठानका तत्कालीन सहसदस्य कृष्णचन्द्रसिंह प्रधानलाई आयोजकका रूपमा दिइएको समेत पाइन्छ । उक्त बैठकले प्रचार र प्रकाशनका काममा सल्लाह दिन आयोजक कृष्णचन्द्रसिंह प्रधान पदेन संयोजक र प्रज्ञा–प्रतिष्ठानका सहसदस्य चूडानाथ भट्टराय एवम् सचिव खड्गमान मल्ल सदस्य रहेको एउटा परामर्श समिति समेत गठन गरेको थियो । पूर्व प्रशासन प्रमुख राजभण्डारीका अनुसार कालक्रममा वि.सं. २०४८ सालतिर प्रेस बढी खर्चिलो भएको आदि जस्ता कारण देखाई छापाखाना बन्द गर्ने कार्य भए पनि वि.सं.२०५१ मा जापान सरकारद्वारा सञ्चालित जापान सहयोग संस्था ‘जाइका’को सहयोगमा संस्कृति मन्त्रालयमार्फत अनुदानस्वरूप आधुनिक अफसेट प्रेस प्राप्त भएपछि प्रज्ञा छापाखाना पुनः सञ्चालनमा आयो । यसरी पुरानो लेटर प्रेसको स्थानमा आधुनिक अफसेट प्रेस सञ्चालनमा आएपछि छपाइमा गुणस्तरीयता समेत देखा पर्न थाल्यो । वि.सं. २०५१ मा मनमोहन अधिकारीको प्रधानमन्त्रित्वको सरकारमा संस्कृति मन्त्री मोदनाथ प्रश्रित आफै साहित्यकार भएको र प्रज्ञा–प्रतिष्ठानको मर्म उनले बुझेका कारणले पनि यो प्रेस संस्कृति मन्त्रालयमार्फत प्रज्ञा–प्रतिष्ठानलाई उपलब्ध हुन सहज भएको देखिन्छ । यो प्रेससँगै एउटा क्यामरा, एउटा प्लेट मेकर, स्टिच मेसिन, ग्लु बाइन्डिङ मेसिन, फोल्डिङ मेसिन, कटिङ मेसिन, पेस्टिङ मेसिन र दुई थान कम्प्युटर पनि प्राप्त भएका देखिन्छन् ।
यसरी नेपालको संस्कृति मन्त्रालयमार्फत नेपाल–जापान सांस्कृतिक अनुदान सहयोगअन्तर्गत उपलब्ध गराइएको उक्त छापाखानाको उद्घाटन वि.सं.२०५२ वैशाखमा तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले गरेको बेहोरा नेपाली र अङ्ग्रेजी दुवै भाषामा लेखिएको ताम्रपत्र छापाखाना सञ्चालन भइरहेको घरमा सुरक्षित रहेको छ । हाल आ.व. २०७३/०७४ को बजेटबाट एघार करोड रुपियाँमा अर्को अत्याधुनिक र क्षमतायुक्त अफसेट प्रेस खरिद गरी भाडामा दिएर सञ्चालन गरिँदैआएको छ ।  यस प्रेसको खरिदपछि प्रज्ञा छापाखाना अझ व्यवस्थित भएको छ ।