काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिक शास्त्र विभाग , हलो क्रान्ति नेपाल र तोयनाथ स्मृति प्रतिष्ठानको आपसी सहकार्यमा ७४ औँ हलो क्रान्ति दिवसका अवसरमा ‘बहुआयामिक हलो क्रान्ति -२००६’ विषयक एकदिवसीय विचार गोष्ठीको सम्पन्न भएको छ ।
गोष्ठीको समूद्घाटन प्रमुखअतिथि तथा माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्नुभएको थियो । गोष्ठीको पहिलो सत्रमा बोल्दै उहाँले भन्नुभयो, “२००६ साल, साउन ११ गते लमजुङको दुराडाँडामा भएको हलोक्रान्तिले सांस्कृतिक ,राजनीतिक र सामाजिक क्रान्ति चेतनाको उद्घोषक गरेको थियो ,तत्कालीन समयमा ब्राम्हणले हलो जोत्नु भनेको असामान्य कुरा नै मानिन्थ्यो । हलोक्रान्ति जातीय छुवाछूत अन्धविश्वास ,उत्पीडन ,शोषण र दमनविरुद्धको एउटा प्रतीकात्मक विद्रोह थियोे । उहाँले ऐतिहासिक हलो क्रान्तिको इतिहासलाई जीवित बनाउन दुराडाँडामा हलो स्तम्भ र हलोपार्क निर्माण लगायतका काममा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस हलोक्रान्तिमा २७ जना ब्राह्मणले हलो जोतेर ऐक्यबद्धता प्रकट गरेका थिए । यसको प्रभाव देशका विभिन्न स्थानमा परेको थियोे । तत्कालीन राणा शासकमा ठुलै खैलाबैला मच्चिएको थियोे । ” यसैक्रममा प्रमुख अतिथि महतले हलो क्रान्तिका नेतृत्वकर्ता पण्डित तोयनाथ अधिकारी, शेषकान्त अधिकारी , हरिभक्त र श्रीकान्त अधिकारीलाई मरोपरान्त सम्मान गर्नुभएको थियोे । सो सम्मान पण्डित तोयनाथ अधिकारीका बुहारी सुशीला अधिकारी, लेफ्टिनेन्ट शेषकान्त अधिकारीका छोरा डा पूर्णकान्त अधिकारी, मुखिया हरिभक्तकी बुहारी लक्ष्मी पौडेल र श्रीकान्त अधिकारीकी श्रीमती गायत्री अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
यसैगरी विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले ७४ वर्षअघि दुराडाँडामा भएको हलोक्रान्ति शान्तिपूर्ण सांस्कृति क्रान्ति थियोे भन्नुभयो । उहाँले मानव सभ्यतामा श्रम र शिल्पको आधारमा वर्णाश्रम व्यवस्थाभित्र जातीय छुवाछूत ,विभेद र अन्यायको उदय भएकाले त्यसको प्रतिरोधका लागि हलोक्रान्ति भएको उल्लेख गर्नुभयो ।
यसैक्रममा माननीय पूर्व सहायक मन्त्री डा. रामचन्द्र अधिकारीले त्यतिबेला समावेशी र समतामूलक समाज निर्माण गर्न हलोक्रान्तिको ऐतिहासिक भूमिका थियोे भन्नुभयो ।
यसैगरी सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले हलोक्रान्ति तत्कालीन समयको विभेदविरुद्वको सांस्कृतिक क्रान्ति थियोे । यो राणा शासनविरुद्ध साङ्केतिक उद्घोष पनि थियोे । यसले मुलुकभरि आफ्नो प्रभाव पारेको थियोे ।यसैक्रममा पण्डित तोयनाथ अधिकारी र खजे दुरालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग नगरप्रमुख कोइरालाले अघि सार्नुभयो ।
हलोक्रान्तिका एक नेतृत्वकर्ता श्रीकान्त अधिकारीको मरोपरान्त सम्मान ग्रहण गर्दै उहाँकी श्रीमती गायत्री अधिकारीले “हलोक्रान्तिको इतिहासलाई नबङ्ग्याई निष्पक्षढङ्गबाट लेख्नुपर्ने कुरामा जोड दिनुभयो ।
यसैगरी श्रीप्रसाद अधिकारीले हलोक्रान्तिको यथार्थ इतिहासलाई जोगाइराख्न प्रतिष्ठानले काम गरिरहेको बताउनुभयो ।
यसै सिलसिलामा “राष्ट्रिय दिवस हलोक्रान्ति” शीर्षकको कविता मुक्तिनाथ घिमिरे र “तोयनाथ स्मृति” शीर्षकको कविता शिवराज पौडेलले वाचन गर्नुभयो ।
यस गोष्ठीको पहिलो सत्रलाई समापन गर्दै तोयनाथ स्मृति प्रतिष्ठानका अध्यक्ष डा. लक्ष्मीकान्त पौडेलले हलोक्रान्ति नेपालको सम्पदा भएकाले यसको जीवन्तताका लागि दुराडाँडामा हलो पार्क र हलो स्तम्भ निर्माण गर्न प्रतिष्ठान लागि परेको बताउनुभएको थियोे ।
यस गोष्ठीमा दोस्रो सत्रको अध्यक्षता प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले गर्नु भएको थियोे ।
यस अवसरमा दीपक अधिकारीले “बहुआयामिक हलो क्रान्ति -२००६” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । कार्यपत्रमा लमजुङ दुराडाँडामा २००६ सालमा भएको हलो क्रान्तिको प्रारम्भ इतिहास ,यसको पक्ष र विपक्षका मत ,आन्तरिक र बाहय प्रभाव तथा परिणामबारे उल्लेख गरिएको छ ।
यसैक्रममा कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले लमजुङको दुराडाँडामा भएको हलो क्रान्ति गण्डकी प्रदेशमा मात्रै सीमित नभएर यसको प्रभाव देशको कुनाकाप्चासम्म राजनीतिक र सामाजिक ढङ्गले परेको बताउनुभयो ।
यसैगरी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले कार्यपत्रको चर्चा गर्दै रुढीबादी र छुवाछूत विरुद्ध हलोक्रान्ति चेतनशील र क्रान्तिकारी भावनाको उपज थियोे । साथै,राजनीतिक र सांस्कृतिक क्षेत्रमा यसको व्यापक प्रभाव परेको थियोे भन्नुभयो ।
यसैक्रममा राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले हलो क्रान्तिको सामाजिक र सांस्कृतिक पक्ष नेपाली समाजमा व्यापक परेको बताउनुभएको थियोे ।
यसैक्रममा डा. उमाकान्त अधिकारीले हलोक्रान्तिले सांस्कृतिक क्षेत्रमा ठुलै हलचल ल्याएको र यस चेतनाले रूढीग्रस्त समाजलाई झटका दिएको थियोे भन्नुभयो ।
यस्तै रामबाबु अधिकारीले हलोक्रान्ति कसैले बिर्सन नमिल्ने एउटा महत्त्वपूर्ण उपलब्धि हो भन्नु भएको थियोे ।
गोष्ठीको दोस्रो सत्रको समापनका क्रममा प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य डा.कौशिला रिसालले लमजुङको दुराडाँडामा ७४ वर्षअघि भएको हलो क्रान्ति श्रम र समाजसँग अन्तर सम्बन्धित रहेको र यसबारे प्रज्ञा-प्रतिष्ठानमा पहिलोपटक विमर्श हुनु इतिहासको सम्मान हो भन्नुभयो । उहाँले कृषि क्रान्तिको सन्दर्भ उठिरहेको आजको समयमा हलो क्रान्तिले विशेष अर्थ राख्ने, हलो क्रान्तिको सुरुवात गर्ने पण्डित तोयनाथ अधिकारीलगायत चारजना नेतृत्वकर्ताहरू साँच्चिकै कृषि क्रान्तिका अगुवा हुन् भन्नुभयो । श्रम र सिपलाई समाजका हरेक जातजाति र समुदायसँग जोडेर लैजादा सार्थक हुने र यसले सामाजिक विकासमा सहयोग पुग्ने कुरा उल्लेख गर्नुभयो ।
अन्त्यमा, हलोक्रान्ति दिवसका सन्दर्भमा “आयोजित बहुआयामिक हलो क्रान्ति -२००६” विषयक गोष्ठीले यसको इतिहास र उपलब्धिलाई स्थापित गर्न सरकारले सम्पदाको रूपमा अघि बढाउनु पर्छ भन्ने निष्कर्ष गष्ठीको रह्यो ।(२०८०/०४/११)