लेखका लागि आह्वान
नेपाल प्रज्ञा-प्रतिष्ठान, समालोचना तथा साहित्येतिहास विभागद्वारा प्रकाशित हुने ‘प्रज्ञा’ विज्ञसमीक्षित अनुसन्धानमूलक पत्रिकाको अङ्क १२८ का लागि भाषा, साहित्य, संस्कृति, समाज र दर्शन विषयमा केन्द्रित भएर लेखिएका अनुसन्धानमूलक लेखहरू यही माघ मसान्तभित्र कार्यालयको इमेल prajnajournal1@gmail.com मा पठाउनुहुन सम्बन्धित लेखकहरूमा आह्वान गरिन्छ । •प्रधान सम्पादक
लेखको आधारभूत ढाँचा
•लेखको आधारभूत संरचना शीर्षक, लेखसार, शब्दकुञ्जी, विषयपरिचय, अध्ययनको विधि, सैद्धान्तिक आधार, विमर्श र नतिजा, निष्कर्ष र सन्दर्भ सामग्रीसूची अनिवार्य हुनुपर्ने छ ।
•लेखको शीर्षक समस्यामूलक, स्पष्ट र छोटोछरितो हुनुपर्ने छ ।
•लेखको सार १५०–२०० शब्दसम्मको हुनुपर्ने छ र यसअन्तर्गत परिचय, विधि, विमर्श र निष्कर्षलाई क्रमबद्ध रूपले छड्के अक्षर (इटालिक्स) मा दिनुपर्ने छ ।
•शब्दकुञ्जी ५–६ शब्दसम्ममा वर्णानुक्रम मिलाई राख्नुपर्ने छ ।
• विषय परिचयमा शीर्षकका शब्दहरूको परिचय, अध्ययन क्षेत्रको निर्धारण, पूर्वकार्यको सङ्केत र अध्ययनको रिक्तताका आधारमा समस्या निर्धारण गरी लेखको औचित्य पुष्टि गर्नुपर्ने छ ।
•अध्ययनको विधिमा सामग्रीको स्रोत, सङ्कलन प्रक्रिया र सङ्कलित सामग्रीको विश्लेषणको स्पष्ट ढाँचा उल्लेख गर्नुपर्ने छ ।
•सैद्धान्तिक आधार :- अवधारणात्मक ढाँचामा सामग्री विश्लेषणको वस्तुनिष्ठ आधार तयार पार्नुपर्ने छ ।
• विमर्शमा आवश्यकताअनुसार उपशीर्षकहरू बनाई विश्लेषणको ढाँचाअनुरूप सामग्री:-तथ्याङ्कहरूको वर्गीकरण, विश्लेषण र मूल्याङ्कन गर्नुपर्ने छ ।
• निष्कर्षमा लेखमा विश्लेषण गरिएका बुँदाहरूका सबै पक्ष समेटिने गरी क्रमशः सामान्यीकरण गरिएको हुनुपर्ने छ ।
• लेख APA पद्धतिको पछिल्लो संस्करणमा आधारित हुनुपर्ने छ ।
• लेखको शब्दसङ्ख्या सन्दर्भ सामग्रीसूचीसहित ३५००–५००० सम्मको हुनुपर्ने छ ।
• लेखकले लेखसँगसँगै आफ्नो छोटो प्राज्ञिक परिचय (नाम, शैक्षिक उपाधि, कार्यरत संस्था र पद, इमेल, मोबाइल नम्बर, बैङ्क खाता नम्बर, पान नम्बर) पनि prajnajournal1@gmail.com मा पठाउनुपर्ने छ ।


