काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव-२०८०भव्य रूपमा सम्पन्न भएको छ ।
यसअवसरमा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले
यस महोत्सवको उद्घाटन गर्दै नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान गर्नुहुँदै सङ्घीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व रहेको बताउनुभयो ।
यसैगरी प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले सम्माननीय प्रधानमन्त्री एवम् प्रज्ञा-प्रतिष्ठानका प्रमुख संरक्षक पुष्पकमल दाहाल “प्रचण्ड”लाई प्रमुख संरक्षकको प्रतीक चिह्न तथा पुस्तक हस्तान्तरण गर्नुभयो।
यसैक्रममा प्रमुख अतिथि प्रधानमन्त्री दाहालले प्रज्ञा सेवा पदक शेषराज देवकोटा र सन पुजारी तथा उत्कृष्ट कर्मचारी पुरस्कार
नरेन्द्रबहादुर पछिमा थारू ,रामबहादुर पहरी र जमुना कुचिकार लगायतका विविध खेलकुद विजेतालाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
यसअवसरमा कलाकारहरू विकासनाथ योगी, सुरेश बज्राचार्य र रमेश अधिकारीले वाद्यवादन प्रस्तुत गर्नुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका संरक्षक तथा विशिष्ट अतिथि माननीय संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सूदन किरातीले नेपाली भाषा,साहित्य ,संस्कृति र कलाका दृष्टिकोणले समृद्धिको जग थप बसाल्न सक्ने सम्भावना छ र यसलाई हामीले विश्वभरि पु-याउन सक्नुपर्छ भन्नुभयो ।यसअवसरमा उहाँले प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ प्रधान सम्पादक रहनुभएको बालपत्रिका लालपातेको विमोचन गर्नुभयो ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा महोत्सवका सभाध्यक्ष राईले कुनैकुनै विषयको संरचनात्मक निर्माणपछि त्यसको निरन्तरता मात्रै हुँदैन समय समयमा त्यसमा सकारात्मक ध्वंस भएर विकास हुन्छ भन्नु हुँदै एकलभाषी चरित्र आजबाट भत्काएर पून:संरचित गरिएको छ ,यसले सकारात्मक र नवीन चेतनाको सुरुवात भएको छ भन्नुभयो ।
यसैक्रममा भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले नेपाली जनताको बहुभाषिक चरित्रअनुसार यसवर्ष नेपाल प्रज्ञा-प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सवको आयोजना गरेको छ ।यसबाट आफूलाई गौरवबोध भएको कुरा उल्लेख गर्दै शुभकामनापत्र पठाएर ऐक्यबद्धता जनाउनुभयो ।
यसैगरी प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ “विमल निभा”ले राष्ट्रिय कविता महोत्सवको माहोल उल्लासमय छ। मनिषीहरूको सार्थक उपस्थितिले उत्साह थपेको छ ।साथै , युगचेतनामा केन्द्रित कविता देखा पर्नु सुखद उपलब्धि भएको कुरा स्वागत मनतव्यका क्रममा उल्लेख गर्नुभयो ।
यस प्रतिष्ठानको ६६ ओैँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव -२०८०को उद्घाटन सत्र सञ्चालनका क्रममा सदस्यसचिव डा. धनप्रसाद सुवेदीले समावेशी स्वरूपको राष्ट्रिय कविता महोत्सव प्रति अनेकौँ प्रश्न र जिज्ञासाबिच आकर्षक र उत्साहप्रद ढङ्गले उपस्थित भएका छौँ ।यसले नयाँ चेतनाप्रवाह गरेको छ भन्ने विषयमा जोड दिनुभयो।
यसैगरी प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य , पद्य/काव्य विभाग प्रमुख तथा राष्ट्रिय कविता महोत्सवका संयोजक बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सवलाई समावेशी सिद्धान्तअनुरूप अपनाइएको हो र यसले झन् विधागत रूपमा कवितालाई समृद्ध तुल्याउने बताउनुभयो ।
यसैगरी नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ “विमल निभा”को अध्यक्षतामा कविता वाचन सत्र सम्पन्न भयो ।
यस राष्ट्रिय कविता महोत्सवमा इमेल र प्रत्यक्ष गरी ८९२वटा कविता प्राप्त भएका तर कतिपय कविहरूले दोहोर्याएर कविता पठाएको पाइएको छ । यसले गर्दा ६४४ वटा कवितामात्र आधिकारिक रूपमा दर्ता भएका हुन्।
साथै कविहरू प्रतिसरा सायमी,रमण घिमिरे ,हाङयुग अज्ञात,ओमकार उप्रेती “प्रथा” र दीपक सापकोटाको एकछनोट समितिले मूल्याङ्कन गरी २५ जना कविका २५ ओटा कविताहरूलाई वाचनका लागि छानेको हो ।
यी वाचित कविताहरू मध्येबाट नेपाली भाषामा उमेश पुन-काठमाडौँ /छोरी, सिमाना र देश, कृपाकरुणा पोखरेल-सुनसरी /रक्तिम कथा , जीवन आरोही -उदयपुर /प्रश्नहरूको विज्ञप्ति,तीर्थराज विश्वकर्मा-सुनसरी /कविले के सम्झियो ?,नवीन अभिलाषी -बाँके/भेरी अभिशप्त बगिरहेछ , प्रकाश दिप्साली राई -सुनसरी /नौरानको नाम,राधिका कल्पित-काठमाडौँ /परिचयपत्र तथा नेपाली मातृभाषा डोटेलीमा खिमानन्द जोशी -दार्चुला /मुई गोठ नाइँ भान्या हूँ र पूर्णानन्द ओझा -डोटी /सन्नीको मान्सा तथा खाम मगरभाषामा टङ्कबहादुर झाँक्री मगर (वैरागी समीप )/हुन्के वे बड्डाका कवितालाई सर्वोत्कृष्ट घोषित गरिएको छ ।यी सर्वोत्कृष्ट १० कविलाई जनही २०,०००( बिस हजार रूपैयाँ) राशिको पुरस्कार प्रदान गरिने प्रज्ञाप्रतिष्ठानले जनाएको छ।
।
यसैगरी अतिथि कविहरू
नर्मदेश्वर प्रधान,रमण घिमिरे , गोपाल अश्क
, रामबहादुर थापा मगर ,सन्जाकुमारी दनुवार,
धीरेन्द्र प्रेमर्षी ,योगेन्द्र प्रधान ,दिग्विजय मिश्र,
केवल विनाबी,गीता कार्की , प्रगति राई
,मुक्तान थेवा,प्रकाश गुरागाई ,भूमिका चौधरी,
हाङयुग अज्ञात,टङ्कमणि अधिकारी
सोझो गाउँले,स्वप्निल स्मृति, डा. सोमबहादुर धिमाल, शोभा सुनुवार,रचना तामाङ यात्री ,छम गुरुङ र वसन्त बर्लाकोटीले कविता वाचन गर्नुभयो ।