काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्ती महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय मैतीदेवीमा आयोजना गरेको थियोे । कार्यक्रमको प्रारम्भमा प्रतिष्ठानका कुलपति भूपाल राई लगायतले महाकवि देवकोटाको सालिकमा माल्यार्पण गर्नुभएको थियोे । महाकवि देवकोटा बारे अवधारणा पत्र प्रस्तुति तथा कविता वाचन कार्यक्रमको समुद्घाटन प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्ज्वलन गरेर गर्नुभएको थियोे।
कुलपति राईले कार्यक्रमलाई सम्बोधन गर्दै महाकवि देवकोटाको पुरातात्त्विक नभई सङ्ग्रहालय नामको एउटा घर मात्रै हो । जस्ताको तस्तै जोगाउन सकेको भए देवकोटाको त्यो घरको पुरातात्त्विक र सांस्कृतिक महत्त्व झनै बढ्ने थियोे । जे जस्तो अवस्थामा रहेको भए पनि सङ्ग्रहालयको हेरचाह प्रज्ञा-प्रतिष्ठानले मात्रै नभइ नेपाल सरकारले समेत गर्नुपर्ने बताउनु भएको थियोे ।महाकवि देवकोटाको नेपाली साहित्यमा कविता लगायतका विधामा विशिष्ट स्थान रहेको उहाँले उल्लेख गर्नुभएको थियोे।






































महाकवि देवकोटाका सुपुत्र तथा त्रिविविका प्राडा पद्मप्रसाद देवकोटाले महाकवि देवकोटाको महानता के हो र के होइन ? यसबारे बहस हुनुपर्ने बताउनु भएको थियो ।उहाँले देवकोटाको साहित्यिक भाषाको शक्ति ,कल्पना ,दुरदर्शिता र क्षमता बारे आफ्नो धारणा राख्नु भएको थियोे। कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाकी सुपुत्रीअम्बिकादेवी रिमाल,प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य द्वय डा. कौशिला रिसाल र हंसावती कुर्मी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमका सभाध्यक्ष प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य साहित्य पद्म-काव्य विभाग प्रमुख बाबा बस्नेतले स्वागत मनतव्यका क्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै महाकवि देवकोटाले आफ्नो विद्रोही चेतनालाई ज्ञानको माध्यमबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा अभिव्यक्त गरेको बताउनुभएको थियोे ।उहाँले साहित्यमा महाकवि देवकोटाले प्रगतिवादी र स्वच्छन्दतावादी धारमा कलम चलाउँदै झ्याउरेलाई साहित्यको मूलधारमा ल्याउनमा मुख्य योगदान रहेको चर्चा गर्नुभएको थियोे ।
महाकवि देवकोटाको समग्र योगदान बारे प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य
डा. बालाकृष्ण अधिकारीले नेपाली साहित्यमा उहाँ बहुआयामिक योगदान भएका एक विशिष्ट स्रष्टा र द्रष्टा रहेको चर्चा गर्दै अवधारणा प्रस्तुत गर्नुभएको थियोे । प्रज्ञा-प्रतिष्ठान काव्य विभागका सदस्य सुधा मैनालीले महाकवि देवकोटाको दार्शनिक पक्षलाई जोड दिँदै उक्त अवधारणामाथि टिप्पणी प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रममा अतिथि कविहरू प्रभा भट्टराई ,मनोज न्यौपाने, ,उषा शेरचन, मिसन अधिकारी ,अञ्जु राजवंशी ,
मिथोच, समिरन चालिसे, सन्तोष श्रेष्ठ,सानु गुल्मेली र शोभा दुलाल आदिले कविता वाचन गर्नुभएको थियोे। भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे ।
सम्प्रेषण : प्राज्ञ चेतनाथ धमला


