काठमाडौँ।२०८१ असार १९ गते बुधवार ।
नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको सहकार्यमा बालसाहित्य समाजका आजीवन सदस्य केशरी अम्गाईले ‘बालबालिकामा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।
गोष्ठीमा नेपाल प्रज्ञा- प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले बाल्यकालदेखि नै बालबालिकामा पुस्तक पढ्ने बानी लगाउनुपर्नेमा जोड दिँदै बाल्यकालको अध्ययन जीवनभरका लागि काम लाग्ने बताउनु भएको थियोे । उहाँले “मैले बाल्य र किशोरकालमा पढेका पुस्तकहरूकै कारण आज लेखकको रूपमा उभिन सकेको हुँ ” भन्नु हुँदै बालबालिकाको मनोविज्ञानलाई पठन संस्कृतिमा आकर्षित गर्नुपर्ने दायित्व हामी सबैको हो भन्नु भएको थियोे ।
गोष्ठीमा नेपाल प्रज्ञा -प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै स्वागत मनतव्य राख्नु भएको थियो ।उहाँले प्रज्ञा-प्रतिष्ठान र बालसाहित्य समाजबिच सम्झौता गरेर बालसाहित्य शृङ्खलाको आयोजना गर्दै आएका छौँ ।बालसाहित्यकारहरू बिच बालचित्र कथालेखन कार्यशाला ,बालबालिकाबिच उपत्यकाव्यापी कथालेखन प्रतियोगिता र बालपुस्तकको प्रदर्शनी आयोजना भइसकेको छ ।बालसाहित्यलाई अन्तर्राष्ट्रियस्तरसम्म पु-याउने उद्वेश्यले २०८१ असोज ४ देखि ६ गतेसम्म प्रज्ञा-प्रतिष्ठान र बालसाहित्य समाजको सहकार्यमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको आयोजना हुने कुरा बताउनु भएको थियोे ।उक्त कार्यक्रममा २५ जना विदेशी बालसाहित्यसँग सम्बन्धित स्रष्टाहरू र १००जना नेपाली बालसाहित्यका स्रष्टाहरूको सहभागिता रहने छ भन्नु भएको थियोे ।
गोष्ठीमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले बालसाहित्य समाजका आजीवन सदस्य केशरी अम्गाईद्वारा लिखित ‘बालबालिकामा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक कार्यपत्रमाथि टिप्पणी गर्दै बालबालिकाको पठन संस्कृतिमा शिक्षकसँगै अभिभावकको भूमिका पनि त्यतिकै महत्त्वपूर्ण रहेको हुन्छ। यससँग सम्बन्धित अरू कुरा पनि कार्यपत्रमा उल्लेख हुनुपर्ने उहाँले बताउनु भएको थियोे ।
गोष्ठीमा बाल साहित्य समाजका आजीवन सदस्य डा.सीतादेवी पन्थीले बालबालिकाको पठनसंस्कृति र अभ्यासमा ह्रास आउनुमा शिक्षकको मात्रै दोष हुँदैन,अभिभावक पनि त्यतिकै चनाखो हुनुपर्छ भन्दै उक्त कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियोे । गोष्ठीमा सहभागीका तर्फबाट प्राज्ञ प्रकाश तिवारी ,विजयराज न्यौपाने, इन्दिरा दली, शान्ता दाहाल, डा.मेघनाथ ढकाल ,वेदमणि घिमिरे , सन्तोष बस्नेत ,यशु श्रेष्ठ र माधव घिमिरे ‘अटल’ले आआफ्ना जिज्ञासासहित सुझाव दिनुभएको थियो ।
गोष्ठीका सभाध्यक्ष तथा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले बालबालिकाको पठन संस्कृतिसँग धेरै कुरा जोडिएका हुनाले यसको प्रवर्द्धनमा सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभएको थियोे । कार्यक्रम नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले सञ्चालन गर्नुभएको थियो ।