काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान,सामाजिक शास्त्र विभागले डा.टिपी धमलाद्वारा लिखित कार्यपत्र योगदर्शनको सामाजिक प्रभाव” विषयक विचार गोष्ठीको आयोजना गर्यो ।
प्रस्तुत कार्यपत्र तथा विचार गोष्ठीको समुद्घाटन प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले गर्नुभयो ।यसअवसरमा उहाँले योग,ज्ञान विज्ञान र दर्शनलगायतका सबै विषयको मूलस्रोत समाज नै हो।पूर्वीय योगदर्शनलाई पश्चिमाले समेत व्यापक बनाइसकेका छन् ।योगको व्यापक खोजअनुसन्धान गर्दै थप सामाजिकीकरण गर्नुपर्ने बताउनुभयो।
यस्तै नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले पूर्वीयदर्शनमा योगको सामाजिक प्रभावको व्यापकतालाई सुव्यवस्थित गर्नु सबैको दायित्व हो भन्नुभयो ।
यसैगरी सो गोष्ठीकाअध्यक्ष, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले योगको सैद्धान्तिक ,सामाजिक र व्यवहारिक पक्षलाई आत्मसात् गर्दै स्वच्छ र स्वस्थ जीवनयापनका लागि योगदर्शनको शिक्षालाई व्यापक तुल्याउन सक्नुपर्छ भन्नुभयो। ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य धर्मेश पोखरेलले योगदर्शन र साधना आत्मिक चिन्तन हो । यसको सामाजिक आयामका बारेमा व्यापक छलफल हुनुपर्ने बताउनुभयो ।

कार्यपत्रको टिप्पणी गर्दै डा. माधवप्रसाद उपाध्यायले योग साधना स्वास्थ्यवर्द्धक ,भौतिक उन्नति , आत्मिक चेतना र सांस्कृतिक लगायतका क्षेत्रमा व्यापक छ ,यसको सामाजिकीकरणका बारेमा थप व्याख्या हुनुपर्यो भन्नुभयो ।
यसैगरी योगदर्शनको सामाजिक प्रभाव”विषयक कार्यपत्र तथा विचार गोष्ठीका सहभागी सर्वराज आचार्यले नेपाल बहुसामाजिक,बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सामाजिक विभेद र असमानताका विषयलाई चित्रण गर्नुपर्दछ भन्नुभयो ।
अर्का सहभागी प्राडा श्रीराम उपाध्यायले योग र ध्यानको बहुआयामिक र सामाजिक प्रभावलाई सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
यस्तै आनन्द गैह्रेले सहभागिताका क्रममा योगको सामाजिक र आध्यात्मिक तत्त्वबारे व्यापक खोजी हुनुपर्ने बताउनुभयो ।
यसैगरी अर्का सहभागीका तर्फबाट श्रीराम पाण्डेले योगका बारेमा विज्ञानले पुष्टि गरेका विषयवस्तुको अध्ययन अनिवार्य छ भन्नुभयो ।
समग्रमा योगदर्शनको सामाजिक प्रभाव र महत्त्वका विषयमा सो विचार गोष्ठी केन्द्रित रह्यो । योगदर्शनले सांस्कृतिक र जातीय विविधता ,स्वास्थ्य ,आर्थिक ,राजनीतिक ,वैज्ञा-निक ,वैदिक सनातन , सामाजिक समानता र असमानता लगायतका विषयमा व्यापक प्रभाव पारेको छ ।यसबारेमा समग्र प्राज्ञिक अनुसन्धान हुनुपर्ने गोष्ठीको निष्कर्ष रह्यो ।