काठमाडौँ । २०८१ असार २९ गते शनिवार। नेपाल प्रज्ञा-प्रतिष्ठान र भानु प्रतिष्ठानको सहकार्यमा २११ औँ भानुजयन्ती विशेष कार्यक्रमका साथ भव्यतापूर्वक सम्पन्न भएको थियोे । भानुप्रतिष्ठानले २०११ सालदेखि भानुसम्बन्धी विविध गतिविधि र २०३३ सालदेखि राजधानीमा प्रभातफेरिसहित भानुजयन्ती मनाउँदै आएको छ । यस प्रतिष्ठानले काठमाडौँमा दुई श्रष्टालाई रथारोहणसहित अभिनन्दन गर्नका साथै नेपाल प्रज्ञा – प्रतिष्ठानको सहकार्यमा प्रभातफेरी र श्रद्धाञ्जली सभाको आयोजना गरेको थियोे । समारोहका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले नेपाली साहित्यको महत्त्वलाई दर्शाउँदै त्यसले राष्ट्रलाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको थियोे ।उहाँले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल जस्तो विभिन्न जातजातिको बसोबास भएको तथा बहुल संस्कार र संस्कृति रहेको मुलुकमा भाषाले अझ बढी महत्त्व राख्ने बताउनुभएको थियोे। आदिकवि भानुभक्तकै कारण नेपाली भाषा विश्वव्यापी महत्त्वको भाषा बन्दै गएको विचार राख्नुभएको थियोे । वर्तमान आधुनिक युगमा ‘डिजिटलाइज’ गरेर नेपाली साहित्यलाई प्रतिष्ठा बनाउनुपर्ने पनि उहाँले बताउनुभएको थियोे । सभामुख घिमिरेले आदिकवि भानुभक्तले गरेको योगदानको सम्मान गर्दै नयाँ पुस्ताले अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको थियोे ।
सभामुख घिमिरेले भानुभक्तले गरेका योगदानलाई समाजमा ल्याउनुका साथै समाजको विकासलाई साहित्यको क्षेत्रबाट अगाडि लैजाने, भाषालाई विकास गर्ने र भाषाको माध्यमबाट विश्वव्यापी रूपमा राष्ट्रलाई चिनाउनुपर्ने बताउनुभएको थियोे । ’नेपाल एकीकरण गर्ने सन्दर्भमा तत्कालीन राजा पृथ्वीनारायण शाहले जसरी राष्ट्रलाई भौगोलित रूपबाट एक ठाउँमा ल्याएर विशाल राष्ट्र बनाउने र नेपाललाई झन्अगाडि बढाउन गरेको काम ऐतिहासिक महत्त्वको थियो । त्यो आन्दोलनलाई अगाडि बढाउँदै गर्दा वीर रसका धेरै कविता लेखिने गरेको इतिहास छ’, घिमिरेको कथन थियो
सोही अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा–प्रतिष्ठानले सबै भाषा सबै ज्ञान:सबैको प्रज्ञा प्रतिष्ठान भन्ने मूल मन्त्रअनुसार प्रतिष्ठानलाई साझा थलो बनाउने जमर्को गरिरहेको बताउनु भएको थियोे । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाल प्रज्ञा प्रतिष्ठानले दशकौँदेखि भानु प्रतिष्ठानसँग सहकार्य गर्दै आएको र सोहीको निरन्तरताका रूपमा २११ औँ भानु जयन्ती समारोह मनाइएको बताउनुभएको थियोे ।
भानु प्रतिष्ठानका तर्फबाट डा. रमेश शुभेच्छुले भानु प्रतिष्ठानको इतिहास र गरेका कामहरूको जानकारी दिनुभएको थियोे । शुभेच्छुले नेपालका सातै प्रदेशका राजधानीमा प्रतिष्ठानका प्रदेश समन्वय समितिले पनि यस्ता कार्यक्रम गरिरहेको जानकारी दिनुभएको थियोे
। उहाँले बोल्ने क्रममा प्रतिष्ठानको आफ्नो भवनसहितको कार्यालयको आवश्यक रहेको र त्यसका लागि पहल थालिएको बताउनु भएको थियोे । उहाँँले भानुभक्तका नाममा राजधानीमा सङ्ग्रहालय हुनु आवश्यक रहेको जिकिर समेत गर्नुभएको थियो। शुभेच्छुले अगाडि सारेको कार्ययोजनामा आफूले रु १००००१ (अक्षरेपी एक लाख एक ) सहयोग गर्ने कुरा वरिष्ठ साहित्यकार प्रा.डा. नोवलकिशोर राईले सम्मानित प्रतिभाको मन्तव्यका क्रममा बताउनु भएको थियोे । राईले भानु प्रतिष्ठानले आफूलाई सम्मान गरेर भानुभक्त प्रतिको श्रद्धाका साथै नेपाली भाषाका लागि थम काम गर्ने अभिप्रेरणा जागृत भएको बताउनुभएको थियोे । त्यस्तै सम्मानित प्रतिभा साहित्यकार माया ठकुरीले सम्मानित भएकामा खुसी व्यक्त गर्दै यो नेपाली नारीहरूको पनि सम्मान भएको बताउनुभएको थियोे । सो समारोहमा डा. राई र ठकुरीलाई रथारोहण गराई नगर परिक्रमा गराउनका साथै अभिनन्दनपत्र प्रदान गरिएको थियो । उहाँहरूमा समर्पण गरिने विशेष अभिनन्दन पत्र उषा भट्ट र दुर्गा नेपालले वाचन गर्नुभएको थियो ।
समारोहमा भानु प्रतिष्ठानका तर्फबाट २०१० औँ भानुजयन्तीका सन्दर्भमा गतवर्ष उत्कृष्ट झाँकीसहित सहभागी विद्यालयमध्ये प्रथम हुने सूर्योदय सेकेन्डरी स्कुल ,
द्वितीय हुने क्याम्ब्रिज पब्लिक स्कुल, काठमाडौँ र तृतीय हुने ग्लोबल स्कुल एन्ड कलेज, काठमाडौँका साथै प्रोत्साहन स्थानमा अन्नपूर्ण मा.वि, काठमाडौँ र कान्तिभैरव गुरुकुल, काठमाडौँलाई पुरस्कृत गरिएको थियोे । प्रमुख अतिथिले विद्यालयका प्रतिनिधिलाई पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभएको थियोे भने भानु प्रतिष्ठानबाट पत्रे रामायण र भानुभक्तको तस्बिर सभाध्यक्ष डा. लम्सालले प्रदान गर्नुभएको थियो ।
यस वर्ष विभिन्न २० विद्यालय र्यालीमा सहभागी भएका थिए। ती मध्ये निर्णायक मण्डलले प्रथम स्थानमा अन्नपूर्ण मा.वि कान्तिपथ, द्वितीय हुने सूर्योदय मा.वि घट्टेकुलो, तृतीय कान्ती भैरव गुरुकुल, गोकर्ण, चतुर्थ ग्लोबल पब्लिक स्कुल र ज्ञानदीप शिक्षा सदन भएको निर्णय घोषणा गरेको थियोे । ती विद्यालयलाई आगामी २१२ औँ भानुजयन्ती समारोहमा पुरस्कृत गरिने जानकारी प्रतिष्ठानका उपाध्यक्ष ऋषभ घिमिरेले गराउनुभएको थियोे ।
ट्राफिक प्रहरीको भ्यानसहित नेपाली सेनाको नौमती बाजा नेपाली सेनाको बग्गी (बग्गीमा भानुभक्तको तस्बिर र सम्मानित साहित्यकारहरू), नेपाल प्रहरीको ब्यान्ड बाजा गुरुज्यूको पल्टनको बाजासहित नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठान काठमाडौँको संयुक्त नामाङ्कित मूल ब्यानरसहित शोभायात्रा गरिएको थयो । शोभायात्रामा जनपद प्रहरी,
सशस्त्र प्रहरी,नेपाल स्काउट
,विभिन्न विद्यालयका विद्यार्थीहरू संलग्न भएका थिए।प्रभातफेरी कार्यक्रममा ब्रिलियन्ट एजुकेसनल मा.वि चाबहिल, ग्गोबल पब्लिक स्कुल पेम्सिकोला, क्याम्ब्रिज पब्लिक हाइस्कुल, पुरानो बानेश्वर, रिभेरा इन्टरनेसनल स्कुल चाबहिल, ह्वित किट्न इन्टरनेसनल स्कुल विशालनगर, कान्तिभैरव गुरुकुल गोकर्ण, सूर्योदय आवसीय मा.वि घट्टेकुलो, हेम्स स्कुल रातोपुल, एपेक्स लाइफ स्कुल सरस्वतीनगर, विनायक शान्ति निकेतन स्कुल थापाथली, अन्नपूर्ण मा.वि, कान्तिपथ, प्रस्फुटन स्कुल सिनामङ्गल, लुम्बिनी एकेडेमी स्कुल चुच्चेपाटी, ज्ञानदीप शिक्षासदन गौरीघाट, बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर, अनमोलज्योति स्कुललगायतको सहभागिता रहेको थयो । कार्यक्रमका सभाध्यक्ष एवम् भानु प्रतिष्ठानका अध्यक्ष नवराज लम्सालले सबैमा धन्यवादज्ञापन गर्नुभएको थियो ।