काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको साहित्य (काव्य/पद्य) विभागले ‘बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’ विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियोे।
कार्यक्रमको उद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गर्नुभएको थियोे । उहाँले पितृसत्ताबाट उत्पीडनमा परेका महिलाहरू एकआपसमा भेला भएर सात/आठ हजार वर्षदेखि तिज मनाउँदै आएका छन्। पितृसत्ताविरुद्ध महिलाहरू तिज पर्वमा गीतसङ्गीतको माध्यमबाट प्रस्तुत भएर विद्रोह गर्दै आएका छन् ।यसलाई नारी मुक्तिको विद्रोहसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभएको थियोे ।उहाँले सांस्कृतिक पर्व तिजको मौलिकता दलाल पुँजीवादको प्रभावमा फसेकोमा चिन्ता व्यक्त गर्नु भएका थियोे ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले महिलाहरूको महान् पर्व तिजले नारीबिच एकाआपसमा भेला भई सुखदु:ख ,अभाव र उत्पीडनलाई व्यक्त गर्ने पर्व नै तिज हो भन्नेमा जोड दिनुभएको थियोे।उहाँले तिजका नाममा देखा परेका अशोभनीय तडकभडकहरू प्रति सबै सजग रहनुपर्ने सुझाव दिनुभएको थियोे।


कार्यक्रममा अवधारणापत्र प्रस्तोता सुधा मैनालीले “बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे।उहाँले तिज र तिज गीतको परिचय,स्वरूप,समावेशीकरण,समाजशास्त्रीय दृष्टिकोण र तिजको भाषिक दृष्टिकोण लगायतका विषयमा अवधारणापत्र केन्द्रीत गर्नुभएको थियो ।उहाँले अवधारणापत्र प्रस्तुत गर्दै “महिलाको भाषिक आवाज आफ्नै भाषामा बुलन्द बनाउने विषयहरू तिज गीतमा समावेश हुनुपर्छ। तिज गीत जीवनको वास्तविक अर्थ खोज्ने र महिला स्वतन्त्रता, विकास र समृद्धिका लागि चेतना छरी, महिला र पुरुषको समान सत्ता निर्माण गर्न सक्ने हुनुपर्छ ।जसले महिलालाई हेर्ने हेपाहा दृष्टिकोण र घृणित सामाजिक अपराधले भरिएको कठघराबाट बाहिरी स्वतन्त्र दुनियाँमा ल्याउन सक्नुपर्छ। महिलाले आफ्नै ठाउँ सिर्जना गर्न सक्नुपर्छ। आफ्ना समस्याको पहिचान गरी समाधान गर्न र निर्णय लिन सबल र सक्षम बनाउने खालका तिज गीत प्रयोगमा ल्याउनुपर्छ। यसका लागि आँसु ,रोदन, उत्तेजना र बजारमा बिक्री गर्ने महिलाको शारीरिक सुन्दरता बेच्ने गीत बन्देज हुनुपर्छ। “भन्ने धारणा व्यक्त गर्नुभएको थियोे ।
उक्त अवधारणा पत्रमाथि पूरक टिप्पणी राख्दै प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा.डा. ज्ञानु पाण्डेले विद्यमान विश्वास र परम्पराले गाँजेको तिज पर्वलाई अब महिलाले मौलिक संस्कृति प्रति सचेत रहँदै विद्रोही स्वर दिनुपर्ने बताउनुभएको थियो ।अर्का पूरक टिप्पणीकार सोमप्रसाद गड्तौलाले तिज पर्वलाई राम्रोसँग बुझ्न’शिव महापुराण’को अध्ययन गर्नुपर्ने र तिजका नाममा देखापरेका विकृतपक्ष चिन्ताको विषय भएको बताउनुभएको थियो । कार्यक्रममा सहभागीका तर्फबाट नाछिरिङ ,प्रभा बराल ,देवकी तिमल्सिना र तारा बरालले आआफ्नो जिज्ञासा राख्नुभएको थियोे। ‘योजना तथा कार्यक्रम महाशाखा’ प्रमुख लक्ष्मी गौतमले कार्यक्रमको सञ्चालन गर्नुभएको थियोे ।