काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्य र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कर्णाली प्रज्ञा-प्रतिष्ठान स्थापनाका लागि सुझाव सङ्कलन गरिएको थियो।प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा
कर्णाली प्रदेश सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले ‘कर्णाली प्रदेशको सांस्कृतिक नीति र कर्णाली प्रज्ञा-प्रतिष्ठान’गठनका सम्बन्धमा विधागत विज्ञसँग परामर्श तथा सुझाव माग गर्नुभएको थियो।




कार्यक्रममा मन्त्री भण्डारीले संवैधानिक अधिकार प्राप्त भए पनि अझै कर्णाली प्रदेशमा प्रज्ञा-प्रतिष्ठान गठन हुन सकेको छैन । कर्णाली प्रज्ञा-प्रतिष्ठान स्थापना गर्ने र कर्णालीको संस्कृति संरक्षणका लागि सांस्कृतिक नीति निर्माण गर्ने र प्रतिष्ठानको संरचना तय गर्ने उद्देश्यले छलफल राखिएको बताउनुभएको थियोे ।उहाँले ‘खस भाषाको उद्गमस्थल कर्णाली प्रदेशको मौलिकता हराउँदै गएको छ। पुरातात्विक महत्त्वका सम्पदा, कला, संस्कृति र जनजीवनलाई जीवन्त राख्न ,खोजअनुसन्धान गर्न प्रतिष्ठान स्थापना हुनु अनिवार्य’ भएको बताउनु भएको थियोे ।मन्त्री भण्डारीले विज्ञहरूमाझ ‘कर्णाली प्रज्ञा–प्रतिष्ठान’स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृतिका लागि तयार पारिएको अवधारणा पत्र’ छलफलमा प्रस्तुत गर्नुभएको थियोे ।प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरीले ‘कर्णाली प्रज्ञा-प्रतिष्ठान’को स्थापना प्रकृया २०७७ बाट सुरु गरिएको थियो।यसैआधारमा मूर्तरूप दिन थालेकोमा आभार व्यक्त गर्दै कर्णाली प्रदेश भनेको आजका १० जिल्ला मात्रै नभएर पूर्वमध्ये कालको त्रिशूलीभन्दा पश्चिम कुमाउगढवाल र लदाकसम्मको सिङ्गो कर्णाली प्रदेश हो।त्यो कर्णाली सभ्यताको इतिहास लेखन त्यसका भाषा,साहित्य ,संस्कृति ,मानवशास्त्र र दर्शनआदि विविध पाटाहरूको अन्वेषण गरी इतिहास लेख्न , लेखाउन , नयाँ पिँढीलाई प्रेरित र प्रोत्साहित गरी अगाडि बढाउन कर्णाली प्रज्ञा-प्रतिष्ठानको स्थापना हुनुपर्नेमा जोड दिनुभएको थियोे ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले कर्णाली प्रज्ञा-प्रतिष्ठानको आवश्यकता औँल्याउँदै संरचनागत स्वरूप र सञ्चालन गर्ने शैली समयानुकूल हुनुपर्नेमा जोड दिनुभएको थियोे।
भाषा आयोगका सदस्य उषा हमालले कर्णालीको भाषा, कला र संस्कृतिको अनुसन्धान गर्न त्यहाँकै जनशक्ति परिचालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवालले प्रतिष्ठानको उद्देश्य पूरा गर्न सञ्चारमाध्यमसँग सहकार्यका लागि सुझाव दिनु भएको थियोे ।प्रा.डा. प्रेम खत्रीले संस्थागत संरचनामा बढी राजनीतिकरण हुँदा कार्यसम्पादनमा बाधा आउने गरेको अनुभव सुनाउँदै कर्णाली प्रज्ञा–प्रतिष्ठानको संरचनालाई प्राज्ञिक केन्द्रको रूपमा अघि बढाउने गरी प्रतिष्ठान स्थापना गर्न आग्रह गर्नुभएको थियोे ।
उक्त कार्यक्रममा सहभागी विषयगत विज्ञहरूले प्रतिष्ठानको गठन प्रक्रियाबारे आ-आफ्ना सुझावहरू प्रस्तुत गर्नुभएको थियोे ।


