काठमाडौँ । तत्कालीन राणा सरकारले ‘तामाङ’ थर लेख्न वि.सं. १९८९ भदौ ६ गते ‘इस्तिहार’ जारी गरेको थियो । उक्त दिनको अवसरमा गत ९वर्षदेखि ‘तामाङ ज्ञान महोत्सव तथा पहिचान दिवस’ मनाउन थालिएको थियोे । यसपटक भने नेपाल प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालयद्वारा प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा ‘नवौँ तामाङ ज्ञान महोत्सव’को आयोजना गरिएको थियोे।
उक्त महोत्सवको समुद्घाटन प्रमुखअतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभएको थियोे ।उहाँले तामाङहरूको सांस्कृतिक बाजा डम्फू बजाएर उक्त महोत्सवको उद्घाटन गर्नुभएको थियोे। उहाँले आदिवासी ज्ञान-परम्परा, साहित्य-संस्कृति र भाषाको संवर्धन अनिवार्य रहेको उल्लेख गर्नुभएको थियोे ।
विशेष अतिथिमा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदी रहनुभएको थियोे ।



महोत्सवमा पहिलो सत्रमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा. तारामणि रार्इले ‘तामाङ भाषाका भौगोलिक भाषिक भेदहरू’बारे कार्यपत्र प्रस्तुत गर्दै भूगोलको दृष्टिले नजिकका क्षेत्रमा शब्दको अर्थमा समानता पाइए पनि नेपालका पूर्वदेखि पश्चिमसम्मका भूभागमा बसोबास गर्ने तामाङ भाषामा विविधता र भिन्नता रहेको बताउनुभएको थियोे ।
यसैगरी भाषाआयोगका कामु सचिव डा. लोकबहादुर लोप्चनले ‘बागमती प्रदेशमा तामाङ भाषा सरकारी कामकाजको कार्यान्वयनमा के हुँदैछ ?’, तामाङ अध्ययन प्रतिष्ठानका अनुसन्धानकर्ता सन्जिला मोक्तानले ‘डाब्जोङमा भाषा पाठशालको स्थापना र तामाङको पहुँच’,
अधिवक्ता रविन्द्र थिङले ‘राजनीति, न्यायप्रणाली र तामाङ समुदाय’ र तामाङ डाजाङका अध्यक्ष फूलकुमार बोम्जनले ‘तामाङ डाजाङको सङ्क्षिप्त इतिहास’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।
महोत्सवको दोस्रो सत्रमा निमा मोक्तानले ‘तामाङ समाजमा बोन परम्परा’, लेखक निष्णु थिङले ‘तामाङ समाजमा द्वन्द्व व्यवस्थापन’, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चतुर्भुज केवरतले ‘आत्मकथा सिद्धान्तको आलोकमा अमृत योन्जन-तामाङको ‘तिल्पुङे ठिटो’को, अध्ययन’ र अनुसन्धानकर्ता उदय थिङले ‘पहिचानको पूर्णदाबी : सञ्चारमा तामाङको प्रतिनिधित्व र तामाङ पहिचान निर्माणमा असरहरूको अटोएथ्नोग्राफिक अन्वेषण’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
साहित्यकार तथा पत्रकार राजु स्याङ्तानको सहजीकरणमा ‘किन तामाङ आन्दोलन उठ्न सकेन ?’ भन्ने विषयमा प्यानल डिस्कसन समेत भएको थियो । डिस्कसनमा लेखकद्वय राजेन्द्र महर्जन र निष्णु थिङ तथा तामसालिङ संयुक्त सङ्घर्ष समितिका प्रवक्ता जय गोले सहभागी हुनुभएको थियोे ।नेपाल तामाङ घेदुङका महासचिव जगत दोङले आफ्नो संस्कृतिबारे बताउनुभएको थियोे।
नवौँ तामाङ ज्ञान महोत्सव आयोजक समितिका संयोजक निष्णु तामाङको अध्यक्षतामा उक्त कार्यक्रमआयोजना गरिएको थियो।कार्यक्रमको सञ्चालन आयोजक सदस्य सफलता थिङले गर्नुभएको थियोे ।