प्रथमअन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान,नेपाल बालसाहित्य समाज र रुम टु रिडको सहकार्यमा २०८१साल असोज ४ र ५ गते काठमाडौँमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको आयोजना हुँदैछ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभागका प्रमुख एवम् अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजक समितिका संयोजक विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले उक्त सम्मेलनले बालसाहित्य सम्बन्धी प्राज्ञिक बहसलाई अघि बढाएर नेपाली बालसाहित्यको लेखनस्तरलाई माथि उठाउन योगदान पुग्ने बताउनु भएको थियोे ।
उपकुलपति श्रेष्ठकाअनुसार सम्मेलनमा २५जना बालसर्जकहरू सहभागी हुनेभएका छन्। उक्त सम्मेलनमा बालसाहित्य र बालबालिकासँग सम्बन्धित दुई दर्जन अनुसन्धानपत्र प्रस्तुत गरिने जनाइएको छ । सम्मेलनले नेपाली बालसाहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने आयोजकको विश्वास छ।सम्मेलनमा कथा वाचनसत्र, बालपुस्तक तथा कला प्रदर्शनी समेत गरिने बताइएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् आयोजक समितिका सदस्य त्रैलोक्यमान बनेपालीले नेपाली बालसाहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको थियो ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष एवम् आयोजक समितिका सदस्य प्रमोद प्रधानले धेरै लामो समयको प्रयासपछि पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना गर्न सम्भव भएको बताउँदै सम्मेलनबाट नेपाली बालसाहित्यबारे अन्य देशका सहभागीलाई जानकारी दिन र अन्य देशको बालसाहित्यबारे जानकारी लिन सकिने भएकाले यसको विशेष महत्त्व रहेको बताउनु भएको थियोे ।
नेपाल बालसाहित्य समाजका महासचिव तथा सम्मेलन अायोजक समितिका सदस्यसचिव विजयराज आचार्य,आयोजक समितिका सदस्यत्रय महेश पौड्याल,भोला श्रेष्ठ र अनुराधालगायतले आआफ्नो धारणा राखेका थिए ।उक्त कुरा गत भदौ २ गते आइतवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बताइएको हो