भारत,कोलकाता । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाली जनकल्याण समितिको सहकार्यमा ‘नेपाली भाषा र दर्शन’ विषयक कार्यक्रमको आयोजना गरिएको थियोे ।उक्त कार्यक्रम आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा भारतको काेलकतास्थित हावडामा आयोजना गरिएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले मूल मनतव्यका क्रममा धेरै बोलिने भाषाको सूचीमा ५९औँ स्थानमा नेपाली भाषा रहेको बताउँदै विश्वका विभिन्न मुलुकका शैक्षिक प्रतिष्ठानमा नेपाली भाषाको पठनपाठन सुरु गर्नुपर्नेमा जोड दिनुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा.कृष्णराज अधिकारीले विशेष मनतव्यका क्रममा भाषा र संस्कृतिले नै देशलाई चिनाउने भएकाले यसको संरक्षण सबैले गर्नुपर्ने बताउनुभएको थियो ।









कार्यक्रमलाई विशेष सम्बोधन गर्दै पश्चिम बङ्गालका खाद्य र उद्योगमन्त्री अनुप रायले नेपाली भाषाका माध्यमबाट सबै नेपालीभाषीलाई जोड्न भानुभक्त आचार्यले गरेको योगदानको कदर गर्दै स्थानीय सडक उहाँको नामबाट राखिएको बताउनुभएको थियोे । उहाँले नेपाल र भारतबिच सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै भाषा, साहित्यका माध्यमबाट भारत र नेपाल नजिक रहेको उल्लेख गर्नुभएको थियोे ।मन्त्री रायले नेपाल र भारतबिच भाषिक समानता भएकाले नै पारस्परिक सम्बन्ध अझ सुमधुर रहेको विषयमा जोड दिनुभएको थियोे ।कार्यक्रममा कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका निमित्त महावाणिज्यदूत जनकराज भट्टले मुख्य मनतव्यका क्रममा नेपाली भाषा र सहित्यका क्षेत्रमा आदिकविले पुर्याउनुभएको योगदान अविस्मरणीय रहेको बताउनुभएको थियोे ।
जनकल्याण समितिका प्रमुख सल्लाहकार तथा साहित्यकार धर्मराज बरालले आदिकवि भानुभक्तले भाषाको माध्यमबाट सबै नेपालीजनलाई एउटै सूत्रमा आबद्ध गर्न पुर्याएको योगदानलाई जति प्रशंसा गरे पनि कम हुने जिकिर गर्नुभएको थियोे । उहाँले आदिकविको सम्मानमा पश्चिम बङ्गाल सरकारले सडकको नामकरण गरेकामा कृतज्ञता ज्ञापन गर्नुभएको थियोे।
नेपाली जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापाले नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्त आचार्यले पुर्याउनुभएको योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले प्रत्येक वर्ष प्रवासमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताउनुभएको थियोे।
उक्त कार्यक्रममा कोलकातामा रहेका नेपालीले आफ्नो कला, संस्कृति, वेशभूषा भल्कने मौलिक संस्कृति प्रदर्शन गर्नुका साथै नेपाली, बङ्गाली र हिन्दीमा गीत प्रस्तुत गरेका थिए । कार्यक्रमका सहभागीले संसारका विभिन्न मुलुकमा पुगेका नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्ने माध्यम नेपालीभाषा भएकाले यसको संरक्षण गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताएका थिए।(२०८१साउन ३१ गते बिहीवार)


