बाँके,कोहलपुर ।२०८० फागुन २६ गते शनिवार
नेपाल प्रज्ञा -प्रतिष्ठानको प्रमुख आयोजना र कोहलपुर नगरपालिका तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहआयोजनामा
‘लुम्बिनी प्रदेश एकदिने आख्यान महोत्सव’को आयोजना गरिएको थियोे ।
यस कार्यक्रममा पूर्णिमा साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘पूर्णिमा साहित्य रत्न–२०७९’ प्रा.डा. रामप्रसाद ज्ञवाली र ‘तुल्सीराम स्मृति पुरस्कार–२०७९’ बाँकेकी साहित्यकार ऋचा लुइँटेललाई नेपाल प्रज्ञा-प्रतिष्ठानमा कुलपति भूपाल राईले भव्य समारोहबिच प्रदान गर्नुभएको थियोे ।
यस महोत्सवलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा -प्रतिष्ठान कथा खोज्दै गाउँगाउँ पसेको बताउनु भएको थियोे ।उहाँले गाउँका अनेकौँ कथा अझै लेखिन बाँकी भएकाले प्रतिष्ठान कथा खोज्दै गाउँ पसेको उल्लेख गर्नुभएको थियोे । नेपालमा अनेकौँ भाषाभाषी र जातजातिका मानिसको बसोबास रहेपनि उहाँहरूका कथा अझै लेख्न नसकिएको बताउनु भएको थियोे ।
यसै क्रममा उहाँले प्रज्ञा -प्रतिष्ठानबारे कतिपय व्यक्तिलाई जानकारी नभएको धारणा राख्नुभएको थियो । ‘प्रज्ञा-प्रतिष्ठानका काम कर्तव्यबारे गाउँगाउँमा अझै पनि धेरै मानिसलाई जानकारी नै रहेनछ,’ ‘त्यसैले पनि गाउँ -गाउँका कथा खोज्दै र प्रतिष्ठानका गतिविधिबारे जानकारी दिँदै हामी गाउँ पसेका हौँ।’विगतमा प्रज्ञा-प्रतिष्ठानलाई बौद्धिक विलासको थलो मात्र बनाउने गरेको उहाँको भनाइ रहेको थियो ।अबका दिनमा भने प्रज्ञा-प्रतिष्ठानले भाषा साहित्यप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्ने उहाँले दाबी गर्नुभएको थियो । यसैको सुरुवातस्वरूप गाउँगाउँमा रहेका लोपोन्मुख भाषा संस्कृति र समुदायका कथा खोज्नैका लागि प्रज्ञा-प्रतिष्ठानले प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको उहाँको भनाइ थियो।
यस कार्यक्रममा प्रज्ञा -प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य तथा आख्यान विभाग प्रमुख अमर न्यौपानेले कोहलपुरलाई ‘सहरले खाएको गाउँ’को संज्ञा दिँदै यहाँ थुप्रै कथा अझै लेखिन बाँकी रहेको बताउनु भएको थियोे ।१५ वर्षअघि आफूले एउटा प्रोजेक्टअन्तर्गत यही भूमिमा आएर यहाँका चिडिमार र पत्थरकट्टा समुदायको कथा लेखेको उहाँले स्मरण गर्नुभएको थियोे ।उहाँले सांस्कृतिक सिद्धान्त निर्माण गर्ने हेतुले प्रत्येक प्रदेशबाट कम्तिमा तीनवटा सांस्कृतिक कथा लेखाउने निर्णय हालै प्रज्ञा परिषदबाट भएको जानकारी दिनुभएको थियोे ।
यस कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. रामप्रसाद ज्ञवालीले साहित्य सिर्जना गरेर मात्र नहुने र आफूले कस्तो लेखिरहेको छु भन्नेबारे स्वयम् स्रष्टाले पनि आत्मसमीक्षा गर्नुपर्ने बताउनु भएको थियो । उहाँले स्रष्टाहरूलाई शक्तिशाली सिर्जना गर्न समेत आग्रह गर्नुभएको थियोे ।यसैगरी कार्यक्रमको पहिलो सत्रमा स्रष्टाहरूलाई सम्मान गरिएको थियो भने दोस्रो सत्रमा लुम्बिनी प्रदेशको साहित्यको अवस्था बारे डा. टीकाराम उदासीले प्रकाश पार्नु भएको थियोे ।
यसैगरी तेस्रो सत्रमा ‘बसाइँसराइ र समाज परिवर्तनका कथा’बारे प्यानल डिस्कसन गरिएको थियो । जसमा वक्ताका रूपमा पूर्वमन्त्रीसमेत रहेका थारू भाषाका अध्येता डा. गोपाल दहित र कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य रहनु भएको थियो । जसको सहजीकरण नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रज्ञासभा सदस्य डा. कृष्णराज सर्वहारीले गर्नुभएको थियोे । यस सत्रमा विशेषगरी थारू भाषा र समुदायका विविध विषयमाथि चर्चा गरिएको थियो ।
यसैगरी, अर्को सत्रमा ‘आख्यान कति यथार्थ कति कल्पना’ विषयक प्यानल डिस्कसनमा प्रज्ञा-प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्य प्राज्ञ अमर न्यौपाने र साहित्यकार डा. अशोक थापाले आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियोे । कथाकार सुमित्रा न्यौपानेले सहजीकरण गरेको यस सत्रमा डा. थापाले १२–१५ वटा विश्वविद्यालय सञ्चालनमा आइसक्दा पनि अहिलेसम्म नेपालमा सिर्जनात्मक लेखनबारे अध्ययन अध्यापन हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । यसैगरी प्राज्ञ न्यौपानेले साहित्य लेखनमा कल्पना र यथार्थ दुवैको समान भूमिका रहेको बताउनु भएको थियोे ।
यसैगरी’ रैथाने’ कथाका बारेमा सामाजिक अभियन्ता राजाराम गुप्ता र राजनीतिककर्मी एकमाया विकले आ-आफ्ना विचार राख्नुभएको थियो । यस डिस्कसनको सहजीकरण साहित्यकार पुष्कर रिजालले गर्नुभएको थियोे । ।यस कार्यक्रममा कथा वाचनसमेत गरिएको थियो ।यस कार्यक्रममा त्यहाँका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियोे ।


