काठमाडौँ ।२०८१ साल फागुन २७ गते मङ्गलवार
ठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको पहलमा नेपालमा बोलिने सबै १२५ भाषामा साझा लेखन पद्धतिका लागि नयाँ फन्ट ल्याइएको छ ।
प्रज्ञा-प्रतिष्ठाले गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा कलाकार रमेश पौडेलले “दुबो” नामक फन्टको डिजाइन गर्नुभएकाे हाे। प्रज्ञा-प्रतिष्ठान,नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबिच ३ महिनाअघि भएको सम्झौताअनुसार उक्त फन्टको डिजाइन गरिएको हो।त्यसैअनुसार कलाकार पौडेलले सो फन्ट हस्तान्तरण गर्नुभएकाे हाे ।
प्रतिष्ठानको देवकोटा सभाकक्षमा प्रस्तावित फन्टका विषयमा भाषाविद्-बिच फन्टको प्रस्तुतिकरण बारे छलफल भएको हो । भाषाविद् प्रा. डा. माधवप्रसाद पोखरेलले प्रस्तावित “दूबो” फन्टले नेपालमा बोलिने धेरै भाषाहरूको लिपि नभएकाले लेखन पद्धतिमा देखिएको समस्या समाधान हुने बताउनुभएको हो । प्रतिष्ठानका कुलपति भूपाल राईले यो कार्य प्रतिष्ठानकै दायित्व भएकाले विज्ञ कार्यदलको सहयोगमा नयाँ फन्टको सिर्जना गरिएको बताउनुभयो । प्रतिष्ठाका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले मेहनतका साथ प्रतिवेदन तयार पार्ने कार्यदल र दुबो फन्ट डिजाइन गर्ने पौडेललाई धन्यवाद दिनुभयो ।भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले प्रस्तावित फन्टले नेपालमा बोलिने सबै भाषाको लेखनमा एकरूपता आउने बताउनुभयो । कार्यदलका संयोजक डा. अमृत योञ्जन तामाङले प्रस्तावित फन्टले नेपालका भाषाहरूको लेखनमा सहजता आउने बताउनुभयो । कार्यदलका सदस्य प्रा. भीमनारायण रेग्मीले प्रस्तावित फन्टको विशेषताका बारेमा जानकारी दिनुभयो । फन्ट सिर्जना गर्ने आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले २२४ क्यारेक्टर रहेको “दुबो” फन्ट देवनागरी र युनिकोडभन्दा फरक लेआउट भए पनि प्रयोगमा ल्याउन सजिलो रहेको बताउनुभयो । प्रा. राम लोहनी, डा. कृष्णप्रसाद चालिसे, डा.कर्णाखर खतिवडा, दिलेन्द्र सुब्बा, डा.सूर्यप्रसाद यादव, राजनलाल जोशीले प्रस्तावित फन्टका विषयमा जिज्ञासासहित टिप्पणी गर्नुभए हो ।
उक्त कार्यदलको संयोजकमा डा. अमृत योञ्जन तामाङ, सहसंयोजकमा प्राज्ञसभा सदस्य डा. विष्णुकुमार सिङ्जाली , सदस्यहरूमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य द्वय त्रैलोक्यमान बनेपाली र हंसवती कुर्मी ,प्राज्ञसभा सदस्य डा. तारामणि राई,प्रा. भीमनारायण रेग्मी र अम्बरजङ लिम्बु रहनुभएको छ। कार्यदलले तयार पारेको प्रतिवेदन २४६ पृष्ठको रहेको छ ।


