काठमाडौँ । नेपाल प्रज्ञा- प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्य शृङ्खला प्रारम्भ गरेको छ। यस शृङ्खलामा मातृभाषा साहित्यबारे सिर्जना, संवाद र विमर्श नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन आयोजना गरिने भएको छ ।यस क्रममा प्रज्ञा-प्रतिष्ठानका साहित्य ( मातृभाषा) विभागका सदस्य तथा युनेस्कोका सहजकर्ता डा. सोमबहादुर धिमालले ‘धिमाल भाषाको साहित्य विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो।
यसमा धिमाल जातिका मौलिक विशेषता र परम्पराहरू ,आरोहअवरोह, अवस्था,पुस्तान्तरण ,चलचित्र ,गीतिसाहित्य,पत्रकारिता,लोककथा,लोकउखान ,किंवदन्ती ,कविता ,गीत,नियात्रा आदि विधागत कृतिबारे कार्यपत्रमा उल्लेख गरिएको छ।
यसअवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले “सबै जातजाति र समूदायका आआफ्नै भाषा छन् । तिनले बोल्ने सबै भाषा मातृभाषा हुन ।भाषामा विभेद झल्किने कुनै पनि मार्जिनको जरुरत छैन ।कर्मकाण्डीय रूपमा वर्षमा एकचोटि मातृभाषा दिवस मनाइन्थ्यो । त्यस परम्पराको साटो मातृभाषाको संरक्षण र संवर्धान गर्ने उद्वेश्यले मातृभाषा साहित्य शृङ्खलाको सुरु गरिएको हो ।यसले मातृभाषाका स्रष्टाहरूलाई उत्साहित र प्रोत्साहित गर्ने छ” भन्नुभयो ।
यसैगरी प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ´विमल निभा’ले “सबै जातजातिको मातृभाषा र साहित्य प्राण हो ।यसको उत्थान र विकासमा लाग्न मातृभाषा साहित्य शृङ्खलाले उत्साह र हौसला थप्ने छ” भन्नुभयो ।
यसै क्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यको क्रममा नेपाल बहुजातीय र बहुभाषा भएको देश हो ।यहाँ भएका सम्पूर्ण मातृभाषाको संरक्षण र संवर्धान गर्ने दायित्व वहन गरेका छौँ।यसैअनुरूप मातृभाषा साहित्यको नियमित शृङ्खला सुरु गरेको बताउनुभयो ।
यसैगरी समापनका क्रममा मातृभाषा साहित्य शृङ्खलाका अध्यक्ष , प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले “सबै भाषाका साहित्यिक स्रष्टाहरूले अाआफ्नो स्वत्व आत्मसात् गर्नेगरी मातृभाषा साहित्य शृङ्खलाको प्रारम्भ गरिएको बताउनुभयो ।उहाँले यसअघि प्रज्ञा -प्रतिष्ठानले फेब्रुअरी २१मा पर्ने अन्तर्राष्ट्रिय मातृभाषा दिवस एकदिन मनाउने गर्दथ्यो । त्यस परम्पराको सट्टा विविध मातृभाषामा सिर्जना, संवाद र विमर्श गर्न लागेको कुरा प्राज्ञ मुकारुङले बताउनुभयो ।
यस्तै डा. सोमबहादुर धिमालद्वारा लिखित “धिमाल साहित्य” विषयक कार्यपत्रमाथि प्राज्ञ सभा सदस्य डा.तारामणि राईले “धिमाल भाषाको साहित्य र संस्कृतिबारे सुपरिचित ता भयौँ तर कार्यपत्रलाई सापेक्षित रूपमा परिमार्जन गर्नु उपयुक्त हुने छ ” भन्ने पूरक टिप्पणी गर्नुभयो । यसैगरी प्रतापसिंह नाछिरिङ ,रामनारायण देव,लोचना मोक्तान,विक्रममणि त्रिपाठी , सन्ध्या पहाडी ,गणेशबहादुर घले,कमला शाक्य सृष्टि र प्रकाश वान्तवा लगायतले प्रस्तुत कार्यपत्रमाथि पूरक टिप्पणी गर्नुभयो । यसैक्रममा तीन कविले तीन भाषाका कविता कार्यक्रममा वाचन गर्नुभयो ।जसमा नेपाल सङ्गीत नाटय प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य देवकुमार चौधरीले थारु भाषामा ,अञ्जु राजवंशीले राजवंशी भाषामा र विनिता ताजपुरियाले ताजपुरिया भाषामा आआफ्नो कवितावाचन गर्नुभयो ।कार्यक्रमको सञ्चालन प्रज्ञा-प्रतिष्ठानका भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख तथा कवयित्री सन्ध्या पहाडीले गर्नुभयो ।
(२०८० साल,साउन २५ गते ,शुक्रबार )