काठमाडौँ ।२०८० साउन ७ गते ,आइतबार ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ ओैँ स्मृति दिवसका सन्दर्भमा नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स)को सहकार्यमा “वर्तमान सन्दर्भमा
पुष्पलाल”विषयक अन्तरक्रिया भयो ।
यसबारेका कार्यपत्र प्रस्तोता रामचन्द्र श्रेष्ठले तत्कालीन नेपाली समाज र परिवेशमा पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टीको इतिहास र नौलो जनवादी कार्यदिशा ,राजनीतिक , साहित्यिक ,सांस्कृतिक , सामाजिक र नागरिक अधिकारप्रति सचेत रहन पु-याएको योगदान र पुष्पलालबाट नेपालका कम्युनिस्टहरूले सिक्नुपर्ने र रूपान्तरण हुनुपर्ने विषयका बारेमा उल्लेख गर्नुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सिले) “पुष्पलालले सामन्तवाद र पुँजीवादविरुद्ध कम्युनिस्ट पार्टी स्थापना गर्नु नै ऐतिहासिक क्रान्ति हो ।साथै,नेपालको कम्युनिस्ट आन्दोलनलाई दलाल पुँजीवादबाट बचाउँदै समाजवाद स्थापना गर्न सङ्घर्षरत रहनुपर्दछ ।यसबाट मात्रै नेपालका श्रमजीवी वर्गले मुक्ति पाउने छन् “भन्नुभयो ।अन्तरक्रियाको समापनका क्रममा नेपाल प्रज्ञा -प्रतिष्ठानका सदस्य सचिव डा .धनप्रसाद सुवेदीले पुष्पलालको विचार र दृष्टिकोण अहिले पनि सान्दर्भिक भएको बताउनुभयो ।
यसैगरी नेकपा (समाजवादी)का नेता करूणा पराजुलीले पुष्पलालले भनेझैँ पुँजीवादी बाटोको पतन र समाजवादको बाटो नै सही हो ।जसमा नेपाली मौलिकतासहित श्रमजीवी जनताका लागि मुक्ति आन्दोलनको महत्त्व झन् बढेर गएको बताउनुभयो ।
यसैक्रममा नेकपा (एमाले)का नेता डा.दीपकप्रकाश भट्टले कार्यक्रममाथि टिप्पणी गर्दै दलाल पुँजीवादबारे जनतालाई सहि ढङ्गले बुझाउन सकिएन भने समाजवादमा पुग्न कठिन हुन्छ ।आआफ्ना ढङ्गले नेपाली वर्गको विश्लेषण गर्ने र एकआपसमा आरोप प्रत्यारोप लगाउने चरित्र हाबी छ ।यसभन्दा माथि हामी उठ्न सक्नुपर्छ भन्नुभयो ।
सहभागीका तर्फबाट “वर्तमान सन्दर्भमा पुष्पलाल”को योगदानबारे गोपीरमण उपाध्याय ,नरेशप्रसाद श्रेष्ठ ,भुवन गिरी ,प्रमिता सि,सीताराम गुरुङ,अर्जुन राई,सन्दिप केसी ,सङ्ग्राम सि ,प्रजिना सिले आआफ्नो जिज्ञासा राख्नुभयो ।

यस अन्तरक्रियका सहजकर्ता कवि तथा युवा नेतृ धनकुमारी सुनारले कम्युनिस्ट आन्दोलनले महिलाहरूको मुक्तिलाई कहिल्यै पनि नजरअन्दाज गर्न नमिल्ने बताउँदै नौलो जनवाद हुँदै समाजवादमा पुग्ने पुष्पलालको लक्ष्य आजका कम्युनिस्टका लागि पनि सार्थक रहेको बताउनुभयो ।


