काठमाडौँ . नेपाल भाषाका वरिष्ठ कवि एवम् निबन्धकार पूर्ण वैद्य कीर्तिशेष भएको दुई वर्ष पुग्यो । उहाँको सम्झनामा नेपालभाषाका तीन प्रतिष्ठित नारी स्रष्टाहरू प्रतिसरा सायमि,मोतीलक्ष्मी शाक्य र मनदेवी ताम्राकारद्वारा रचित सृजना ‘नेवा: खँग्व:या पिला’ नामक कृति प्रकाशन भएको छ ।यसअवसरका प्रमुख अतिथि नेपालभाषाका वरिष्ठ साहित्यकार हितकरवीरसिं कंसकार ,विशिष्ट अतिथि नेपाल प्रज्ञा- प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ र विशेष अतिथि नेपालभाषा एकेडेमीका भाइस चान्सलर मल्ल के सुन्दर लगायतले अल्फा हाउस बानेश्वरमा एक कार्यक्रमबिच सो कृतिको विमोचन गर्नुभयो ।
यस कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य त्रैलोक्यमान बनेपाली (अगिव)को आतिथ्य रह्यो ।प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य सुलोचना मानन्धर धिताल ,प्रसिद्व समालोचक पूर्ण ताम्राकार,नेवा: अभियन्ता सुवर्ण केशरी चित्रकार,मीरा शाक्य वैद्य र मोतीलक्ष्मी शाक्यले पुस्तकको परिचर्चासहित मनतव्य राख्नुभयो ।
सो कार्यक्रम नेपाल साहित्य मन्दिरका निवर्तमान अध्यक्ष तिलकप्रकाश कायष्ठको अध्यक्षतामा अल्फा हाउस बानेश्वरमा सम्पन्न भयो ।कार्यक्रममा मनदेवी ताम्राकारले स्वागत मन्तव्य गर्नुभयो । नेपालभाषाका प्रसिद्ध कवि प्रतिसरा सायमिले कार्यक्रम सञ्चालन गर्नुभयो ।
प्रस्तुत पुस्तकमा नेपालभाषाका शब्दहरूको सङ्कलन गरी वाक्यमा प्रयोग गरिएकाले पठन पाठनको निमित्त सजिलो हुने देखिन्छ । साथै,पिला अर्थात् हाम्रा पूर्वज बज्यै, जिजु बज्यैहरूलाई दाइजोको रूपमा दिइने ठुला सन्दुकसँगै अत्यावश्यक परेमा सजिलै खोज्न सकिने गरी सङ्ग्रह गर्ने सानो सन्दुकको नाम हो । यसर्थ प्रस्तुत पुस्तकबाट भावी पुस्ताले शब्दज्ञान आर्जन गर्ने छन् ।