काठमाडौँ ।२०८१ माघ २० गते आइतवार । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बाल साहित्य समाजको सहकार्यमा आयोजित “दोस्रो बालपुस्तक प्रदर्शनी तथा उपत्यकाव्यापी स्थलगत विद्यालयस्तरीय बालकथालेखन प्रतियोगिता”को नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले माघ २० गते एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको थियो। उक्त प्रदर्शनी माघ २४ गतेसम्म चल्नेछ । कमलादीस्थित प्रज्ञा भवनमा आयोजित प्रदर्शनी बिहान १० देखि ५ बजेसम्म खुला रहनेछ । बालकथा लेखन प्रतियोगिता माघ २२ र २३ गते हुने कार्यक्रम रहेको छ।
प्रदर्शनीमा नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजका अतिरिक्त एकता प्रकाशन, कोपिला किताब, विवेक सिर्जनशील प्रकाशन, परिचय प्रकाशन, अक्षरधाम, साङ्ग्रिला बुक्स, रिडमोर, भुँडीपुराण प्रकाशन, ज्ञानवृक्ष प्रकाशन, रातो बङ्गला किताब र खोजी प्रकाशन गृहको सहभागिता रहेको छ ।

सोही कार्यक्रममा नेपाल बालसाहित्य समाजबाट प्रदान गरिने विभिन्न पुरस्कार र सम्मान पनि समर्पण गरिएको थियो ।
पुरस्कृत हुनेहरूमा मित्रलाल पंज्ञानीलाई नानी र चरी (बालकाव्य, ८ वर्षभन्दा कम) र हरि खनाललाई आमा (बालउपन्यास, ८वर्षभन्दा माथि) का लागि नेबासास बालपुस्तक लेखन पुरस्कार-२०७८ तथा इन्द्र चौधरीलाई नयाँ वनपाले (चित्रकथा, ८ वर्षभन्दा कम) र सिर्जना राईलाई साङ्केनको खुल्दुली (चित्रकथा, ८ वर्षभन्दा कम) का लागि नेबासास बालपुस्तक लेखन पुरस्कार-२०७९ समर्पण गरियो । यस्तै कलाग्रज बिलाई बाघसँग जम्काभेट (चित्रपुस्तक) र कृषा ताम्राकारलाई यःमरि चित्रपुस्तकका लागि क्रमशः २०७८ र २०७९ सालको नेबासास बालपुस्तक चित्राङ्कन पुरस्कार समर्पण गरिएको थियो ।
कार्यक्रममा डा. तीर्थबहादुर श्रेष्ठलाई नेबासास मुकेश-जनक बालविज्ञान पुरस्कार-२०८१ र डा. अम्बिका घिमिरेलाई नेबासास ध्रुव-सुशीला बालसाहित्य अनुसन्धान पुरस्कार समर्पण गरियो । साथै बालसाहित्यको प्रकाशनमा योगदान पुर्याएकोमा दुई प्रकाशन संस्था रत्न पुस्तक भण्डार र एकता प्रकाशनलाई क्रमशः २०८० र २०८१ सालको नेबासास बालसाहित्य प्रवर्द्धन सम्मानले सम्मानित गरिएको थियो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कुलपति भूपाल राईले बालबालिकाहरूको सिर्जनात्मक क्षमता विकासका लागि पठन संस्कृतिको विकास अपरिहार्य रहेको बताउनुभएको थियोे । प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा बाल साहित्यका सर्जकले बालबालिकालाई प्रोत्साहित गर्ने गरी साहित्य सिर्जना गर्न जोड दिनुभएको थियो।

























समाजका कार्यसमिति सदस्य एवम् बालकथा लेखन प्रतियोगिताका संयोजक सुशीला प्रधानाङ्गले प्रदर्शनी र प्रतियोगिताको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले गर्नुभएको थियोे ।कार्यक्रमको सञ्चालन समाजका महासचिव विजयराज आचार्यले गर्नुभएको थियो ।