भारत ,उत्तरप्रदेश/वाराणसी। नेपाल प्रज्ञाप्रतिष्ठान र काशी हिन्दु विश्वविद्यालय वाराणसी भारतअन्तर्गत कला सङ्घ सङ्कायको भारतीय भाषा विभागबिच नेपाली भाषा साहित्य, संस्कृति तथा दर्शनको अध्ययन अनुसन्धान गर्नेसम्बन्धी प्रतिबद्धतापत्रमा २०८१ साउन ३२ गते ,शक्रवार हस्ताक्षर भएको थियोे ।


उक्त प्रतिबद्धतापत्रमा प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदी र भारतीय भाषा विभाग प्रमुख प्रा.डा.दिवाकर प्रधानले हस्ताक्षर गर्नुभएको थियोे । प्रतिबद्धतापत्रमा विमर्शसहितका कार्य गर्न नेपाली भाषा ,साहित्य र दर्शनजस्ता नेपाली वाङ्मय र भारतीय नेपाली वाङ्मयबिच समय-समयमा कार्यक्रम गर्ने सहमति भएको थियो ।
नेपाली भाषाको श्रीवृद्धिका लागि अध्ययन अनुसन्धन र अनुवादका क्षेत्रमा सहकार्य गर्ने सहमति दुवै पक्षबिच भएको थियोे। प्रज्ञा-प्रतिष्ठानले भारतीय भाषा विभागमा अध्ययनरत शोधार्थीका लागि यथाशक्य विद्वतवृत्ति प्रदान गर्ने र वृत्तिका माध्यमबाट भारतीय नेपाली भाषा र साहित्यबारे अध्ययन गर्न प्रोत्साहन गर्ने विषयमा सहमति गरिएको थियोे ।

( २०८१ साउन ३२ गते शुक्रवार ,समाचार राससको सहयोगमा तयार पारिएको हो )