काठमाडौँ । २०८१ भदौ २६ गते बुधवार।नेपाल प्रज्ञा–प्रतिष्ठानको मातृभाषा, कोश र व्याकरण विभागको आयोजनामा ‘नेपालभाषाका प्रगतिवादी कविता’बारे समालोचक पूर्ण ताम्राकारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा वि.सं. २०२२ सालको समाचार काण्डले नेवारहरूमा व्यापक असन्तुष्टि बढेर टोलटोलमा युवाहरूले साहित्यिक कार्यक्रम गरेर विरोधको स्वर घन्काएको ऐतिहासिक सन्दर्भका बारेमा चर्चा गरिएको थियोे ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपालभाषा एकेडेमीका उपकुलपति मल्ल के सुन्दरले नेपालभाषामाथि गरिएको अन्याय, भेदभाव, शोषणका कारण कविहरूमा स्वतः प्रगतिशील चेतना उत्पन्न भएको कुरा उल्लेख गर्नुभएको थियोे ।उहाँले नेपालभाषाका कतिपय कविहरूको व्यवहार र जीवनपद्धति गैरप्रगतिशील र राजावादी भइकन् कविताचाहिँ वामपन्थी वा प्रगतिवादी भएको सङ्केत गर्नुभएको थियोे। राज्यले निरन्तर रूपमा नेपालभाषालाई विभेद र थिचोमिचो गरेकाले नेपालभाषाका कविमा प्रगतिवादी चेत उब्जिएको भन्ने फरक मत मल्ल के सुन्दरले राख्नुभएको थियो । पञ्चायतको ‘एक भाषा एक देश ‘जस्तो राजाको निरङ्कुश भाषिक नीतिको निहुँ र अवस्थाले दुर्गालाल श्रेष्ठ, शान्तदास मानन्धर, हितवीर कंसाकार र ईश्वरानन्द आदि त्यस ताकाका युवाहरू कवितामार्फत जुर्मुराएको इतिहास प्रतीकात्मक रहेको चर्चा गर्दै कविहरूले असन्तोष, विद्रोह र आक्रोशसहित परिवर्तनका स्वर उरालेको इतिहास उप्काउनु भएको थियोे ।




नेपालभाषाको साहित्यमा प्रगतिवादी आवाज उराल्ने विराट नेपालभाषा साहित्य सम्मेलन, नेपालभाषा तःमुञ्ज्या मात्र होइन इन्द्रेणी साहित्य समाज र बालसाहित्य मण्डल जस्ता संस्थाले पनि गहन योगदान दिएकाले ती कुरा छुट्न गएको कार्यपत्रमा थप गर्न सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा
मातृभाषा, कोश र व्याकरण विभाग प्रमुख
त्रैलोक्यमान बनेपाली (अगिब)ले राख्नुभएको थियोे । विभिन्न मातृभाषामा यसप्रकारका कार्यपत्र लेखाएर विमर्श गर्ने जानकारी प्राज्ञ बनेपालीले गराउनुभएको थियोे। कार्यक्रमको उद्घोषण भने भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडील गर्नुभएको थियोे।