काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र बालसाहित्य समाजको सहकार्यमा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४८ औँ जन्मजयन्तीको आयोजना गरिएको थियोे ।
कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा -प्रतिष्ठान र बालसाहित्य समाजको सहकार्यमा बालसाहित्य सम्बन्धित अन्तरक्रिया बहस र छलफल हुँदै आएको छ।यसले बालबालिकालाई साहित्यमा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको थियोे ।उहाँले जयपृथ्वीबहादुर सिंह तत्कालीन राणाशासनविरूद्व प्रतिपक्ष चेतना भएका बहुप्रतिभाशाली व्यक्तित्व हुनुका साथै पहिलो पाठयपुस्तक लेखन, शिक्षा,पत्रकारिता र बालसाहित्यलगायत विविध विधाका साधक रहेको खुलासा गर्नुभएको थियोे। कुलपति राईले बालसाहित्य समाजका संस्थापक सदस्य तथा पूर्व उपाध्यक्ष प्रा.रामकुमार पाँडेलाई “नेबासास जयपृथ्वी सम्मान-२०८०” समर्पण गर्नुभएको थियोे।यसैगरी रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालि, प्रीतिका ९ कक्षामा अध्ययनरत छात्र आकाश सुनुवारलाई साहित्यतर्फ र सुर्खेत, पञ्चपुरीका कक्षा ४ की छात्रा प्रीति विकलाई गायन कलातर्फ “नेबासास जयपृथ्वी बालप्रतिभा पुरस्कार” समर्पण गरिएको थियोे ।
उक्त पुरस्कार जनही रू ५ हजार रहेको घोषणा गरिएको थियोे । कार्यक्रममा गेहेन्द्रभूषण पोखरेलीलाई गत वर्ष प्रदान गरिएको “नेबासास मुकेश-जनक बालविज्ञान पुरस्कार” उहाँकी सुपुत्री प्रतिमा ढुङ्गानालाई हस्तान्तरण गरिएको थियोे । यस पुरस्कारको राशि नगद रू १५ हजार रहेकोे थियो।
कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई, उपकुलपति विमलकृष्ण श्रेष्ठ, समाजका संस्थापक अध्यक्ष प्रा.डा. चूडामणि बन्धु र समाजका अध्यक्ष प्रमोद प्रधानले पुरस्कृत व्यक्तित्वहरूलाई सम्मानपत्र, दोसल्ला, खादा, माला र नगद समर्पण गर्नुभएको थियो। कार्यक्रममा हिमरश्मि स्कुलकी कक्षा-१०की छात्रा अपेक्षा बास्तोलाको कथाकृति “भयको तस्बिर”को लोकार्पण पनि गरिएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहले शिक्षा क्षेत्रमा समर्पित भई पाठ्यपुस्तक लेखन र बालसाहित्य सिर्जना लगायतमा विशद् योगदान पुर्याएको उल्लेख गर्नुभएको थियोे ।
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्वागत मनतव्यको क्रममा जयपृथ्वीबहादुर सिंह पहिलो पाठयपुस्तक लेखक,शिक्षासेवी,दार्शनिक र विद्वान् व्यक्तित्व रहेको बताउनुभएको थियोे ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजका संस्थापक अध्यक्ष डा. चूडामणि बन्धु र समाजका कार्यसमिति सदस्य सुशीला प्रधानाङ्गले जयपृथ्वीबहादुर सिंहको योगदानको चर्चा गर्नुभएको थियो । नेपाल बालसाहित्य समाजका उपाध्यक्ष डा. यादेवी ढकालले सम्मानित व्यक्तित्व एवम् पुरस्कृत बालप्रतिभाहरूबारे जानकारी दिनुभएको थियो । नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजका सचिव डा. विष्णु केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा पुरस्कृत बालप्रतिभा आकाश सुनुवारले कविता र प्रीति विकले गीत प्रस्तुत गर्नुभएको थियोे।