•चीन,छेङ्दु।२०८१ असोज २९ गते मङ्गलवार। चिनियाँ–नेपाली शास्त्रीय ग्रन्थहरूको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका २६वटा पुस्तक चीनमा सार्वजनिक गरिएको थियोे । चीनको छेङ्दुमा असोज २६ गते आयोजित एक विशेष समारोहबिच दुवै पक्षका विज्ञ समितिका अध्यक्ष एवम् सदस्यहरूको उपस्थितिमा १३ नेपाली र १३ चिनियाँ पुस्तक सार्वजनिक गरिएको हो । नेपाली विज्ञ समितिका अध्यक्ष एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईसहितको पाँच सदस्यीय नेपाली टोली कार्यक्रममा सहभागी हुन छेङ्दु पुगेको थियो । टोलीमा नेपाली विज्ञ समितिका सदस्य एवम् प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यद्वय डा. कृृष्णराज अधिकारी र हंसावती कुर्मी, प्रतिष्ठानकै शाखा अधिकृत रवीन्द्र तिमसेना एवम् चिनियाँ मामिला जानकार किरण गौतम पनि सहभागी हुनुहुन्थ्यो ।
नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चीनको नेसनल एड्मिनिस्ट्रेसन अफ प्रेस एन्ड पब्लिकेसनबिच सन् २०२३ को सेप्टेम्बरमा दुई देशका शास्त्रीय ग्रन्थहरू अनुवाद एवम् प्रकाशनसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएयता दुवैतर्फ विज्ञ समिति गठन भई कार्य अघि बढेको छ । अनुवाद एवम् प्रकाशनका लागि नेपाली पक्षले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई र चिनियाँ पक्षले सिन्ह्वा विन्सेयर पब्लिसिङ एन्ड मिडिया कम्पनी लिमिटेडलाई जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै नेपाली भाषामा अनुवाद एवम् प्रकाशनका लागि छानिएका रिडिङ गाइड फर सि चिनफिङ थट अन सोसलिजम विथ चाइनिज क्यारेक्टरिस्टिक्स फर अ न्यु एरा, सेभेन्टी इयर्स अफ न्यु चाइना, अ सर्ट हिस्ट्री अफ चाइनिज फिलोसफी, द एनोटेटेड क्रिटिकल लाओजी, सेलेक्टेड स्टोरिज अफ जिया दसान, ह्वाई एन्ड हाउ द सीपीसी वक्र्स इन चाइना, ह्वाइट डिअर प्लेइन, रेड सर्गम, ट्रान्सलेसन एन्ड एनोटेसन अफ द बुक अफ चुआङ्जी, द ग्रास हाउस, द म्याजिक गर्ड, इस्टर्न एन्ड वेस्टर्न कल्चर्स एन्ड फिलोसफिज, अ ब्रिफ हिस्ट्री अफ एन्सिएन्ट चाइनिज आर्किटेक्चर गरी १३वटै चिनियाँ पुस्तक सार्वजनिक गरिएको थियोे ।

भ्रमणका क्रममा नेपाली टोलीले छेङ्दुमा असोज २५ गतेदेखि सुरु भएको चारदिने तियान्फु बुक फेयरको उद्घाटन कार्यक्रममा सहभागी हुनुका साथै सिचुवान प्रान्तका भाइस गभर्नर हु युनसँग औपचारिक भेटघाट गरी अनुवाद परियोजनाका सन्दर्भमा छलफल गरेको थियो ।