काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा नेपाली बालसाहित्यको अध्ययन परम्परा’ विषयक विचार गोष्ठी भएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले सो कार्यक्रमको समूद्घाटन गर्नुभएको थियोे ।
यस अवसरमा उपकुलपति श्रेष्ठले ‘बालसाहित्य’ साहित्यको आधारस्तम्भ भएकाले सुव्यवस्थित ढङ्गले लेखन र पठनपाठन हुनुपर्नेमा जोड दिनुभएको थियोे ।
यस कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले सीमित स्रोत र साधनबिच पनि विभिन्न संस्थासँग मिलेर प्रतिष्ठान रचनात्मक काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियोे । उक्त कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपालले सो विचारपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यपत्रमा नेपाली बालसाहित्यको अध्ययन परम्पराअन्तर्गत अभिलेखिकरणको कार्य थालिएदेखि इतिहास र समालोचना लेखन, कलेज र विश्वविद्यालयमा अध्यापन र अनुसन्धान कार्य, बालसाहित्यमा विद्यावारिधिको थालनी लगायतका विषय समेटिएका थिए । डा. नेपालले बालसाहित्यको अध्ययन परम्परामाथि अझ गहनरूपमा काम गर्नुपर्ने आवश्यकता विचारपत्र लेखनका क्रममा आफूलाई लागेको बताउँदै त्यसका लागि सहकार्य गर्न सकिने धारणा राख्नुभएको थियोे । उक्त पत्रमाथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी र बालसाहित्यकार डा. छायादत्त न्यौपानेले टिप्पणी गर्नुभएको थियो । टिप्पणीकार द्वयले विचारपत्रमा कतिपय विषयक्षेत्र समेट्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियोे।
यसैगरी सहभागीहरू मध्ये बालसाहित्यकार प्रा.डा. ध्रुवकुमार घिमिरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका महासचिव विमला ढुङ्गाना निरौला, साहित्यकारहरू केशरी अम्गाई र विश्व देवकोटा लगायतले जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले बालसाहित्य अध्ययन अनुसन्धान गर्नलाई सामग्रीको उपलब्धता ठुलो समस्या भएको बताउँदै नेपाल प्रज्ञा-प्रतिष्ठानले पुस्तकालयमा छुट्टै व्यवस्थित बालसाहित्य पुस्तकालय स्थापना गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले आफ्नो पुस्तकालयमा रहेका करिब २ हजार बालपुस्तक सो पुस्तकालयलाई प्रदान गर्न तयार रहेको बताउनुभएको थियोे । यस कार्यक्रमको सञ्चालन नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले गर्नुभएको थियोे । सो कार्यक्रमको प्रारम्भमा २०८० कात्तिक १६ गते ,शुक्रवार जाजरकोट र रुकुममा गएको भूकम्पका कारण कीर्तिशेष भएकाहरूको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।
(२०८० कात्तिक १८ गते ,शनिवार )