नेपालको प्रगतिवादी दर्शनमा पुष्पलालको योगदान विषयक कार्यक्रम सम्पन्न।
काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र पुष्पलाल अध्ययन समाजको सहकार्यमा ” नेपालको प्रगतिवादी दर्शनमा पुष्पलालको योगदान” विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रज्ञा -प्रतिष्ठानका कुलपति भूपाल राईले शुभकामना मन्तव्य राख्दै प्रज्ञा प्रतिष्ठानमा भाषा र साहित्यका साथै संस्कृति, दर्शन र सामाजिकशास्त्र विभाग समेत रहेकाले नेपालमा प्रवर्द्धन र विकास भएका विभिन्न विचार, चिन्तन र दर्शन अनि सामाजिकशास्त्रका विभिन्न आयामहरूमा छलफल र विमर्श गर्ने गरिएको भन्दै कतिपय व्यक्तिहरूभाषा साहित्यबाहेक अन्य विषयमा प्रज्ञा-प्रतिष्ठानले छलफलै गर्न नहुने टिप्पणी गरेकोमा आश्चर्य लागेको बताए ।




कार्यक्रमलाई स्वागत गर्दै प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा.कृष्णराज अधिकारीले नेपालमा अहिले जति पनि सकारात्मक परिवर्तन भएका छन् त्यसमा क. पुष्पलालको महत्त्वपूर्ण योगदान रहेको भन्दै पुष्पलालले नेपाली राजनीतिको क्षेत्रमा मात्र नभएर नेपाली समाजको वर्ग विश्लेषण, जनवादी संस्कृति निर्माण र मार्क्सवादी दर्शनको विकासमा पनि योगदान पुर्याएको विचार व्यक्त गर्नुभयो । कार्यक्रमको अेाेचित्यमाथि गोपीरमण उपाध्यायले प्रकाश पार्नु भयो ।लोकनारायण सुवेदीद्वारा प्रस्तुत कार्यपत्रमाथि डा.बालचन्द्र मिश्र र प्रा . डा. जगदीशचन्द्र भण्डारीले पूरक मन्तव्य राख्नुका साथै विभिन्न व्यक्तिहरूले कार्यपत्रमाथि आफ्नो टिप्पणी राख्नुभएको थियो । उठेका जिज्ञासामाथि कार्यपत्र प्रस्तोताले जवाफ दिनुभएको थियो ।

कार्यक्रम पुष्पलालको जन्मशताब्दीको अवसर पारेर देशका विभिन्न भूभागमा गरिँदै आएको सन्दर्भमा भएको थियो ।

