नेपालका विभिन्न जातजातीका संस्कार , संस्कृति बारेमा जानकारी दिने उद्देश्य काठमाडौं, वैशाख २१ । नेपाल प्रज्ञा प्रतिष्ठान ( सामाजिक शास्त्र विभाग) ले नेपालका जातीय सामाजिक संस्कार भाग नौ प्रकाशन गरेको छ । नेपालका विभिन्न जातजातीको बारेमा जानकारी दिने र उनीहरुको संस्कारलाई संरक्षण गर्ने उद्देश्यले तयार पारेर प्रकाशन गरिएको यो पुस्तकमा लोपोन्मुखलगायत २० जातका जातीय र सामाजिक संस्कार समेटिएको छ । यसमा शेर्पा समुदाय र तिनका सामाजिक संस्कार, बाम्बुले राईको सामाजिक तथा सांस्कृतिक परिचय, डगौरा थारुको जातीय सामाजिक संस्कारहरू, चुनरा जातिका जातीय संस्कार, सुरेल, बनकरिया, तोक्पेगोला, लाप्चा, जिरेल लगायत बिस जातका जन्म, विवाह र मृत्यु संस्कारबारे समावेश छ । नेपालका जातीय सामाजिक संस्कार भाग नौ प्राज्ञ डा. कौशिला रिसाल र नारायण शर्माले संयुक्त रूपमा सम्पादन गरेका हुन् भने आआफ्नो जातीय संस्कार र सामाजिक रहनसहनको बारेमा अध्ययन गरी सम्बन्धित समुदायका विज्ञ लेखकहरूले लेखेका हुन् । यी लेखहरू तत्तत् जातिका संस्कारहरुका विषयमा अध्ययन अनुसन्धान गर्न चाहने अध्येता, विद्यार्थी र सबै पाठकहरूका लागि उपयोगी हुने विश्वास प्राज्ञ डा. रिसालले व्यक्त गर्नुभयो । प्रज्ञाले यसअघि पनि विभिन्न जातजातीका सामाजिक संस्कार समेटेर जानकारी मुलक पुस्तक प्रकाशन गर्दै आएको थियो । प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले यसअघि नसमेटिएका जातजातिका जातीय संस्कारलाई आगामी भागहरूमा समेटिने जानकारी दिनुभयो ।