काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले हरेक महिनाको अन्तिम शुक्रवार ‘मातृभाषा साहित्य शृङ्खला’ अन्तर्गत सिर्जना, संवाद र विमर्श’ कार्यक्रमको आयोजना गर्दै आएको छ। यसैक्रममा ‘थारू साहित्यको विगत र वर्तमान’ विषयक कार्यपत्र प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.कृष्णराज सर्वहारीले एक समारोहबिच यसै प्रतिष्ठानको देवकोटा सभाकक्षमा प्रस्तुत गर्नुभएको थियोे ।
यस अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरी सो कार्यक्रमको समुद्घाटन गर्दै थारु भाषा र साहित्य लेख्य परम्परामा निक्कै अगाडि देखिए पनि महत्त्वपूर्ण काम हुन बाँकी रहेको बताउनुभएको थियो । यसैगरी प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा थारुभाषाको साहित्यले नेपाली साहित्यमा विशेष योगदान पुर्याएको बताउनुभएको थियोे । यसैक्रममा कार्यक्रमका सभाध्यक्ष एवम् प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले नेपाली मातृभाषामा थारुभाषा र साहित्यको उच्चस्थान रहेको बताउनुभएको थियोे ।
यसैगरी प्राज्ञ डा.सर्वहारीद्वारा प्रस्तुत ‘थारू साहित्यको विगत र वर्तमान’ विषयक कार्यपत्रमाथि टिप्पणी गर्दै शत्रुघन चौधरीले थारुभाषा मौलिक साहित्यमा निक्कै समृद्ध छ। यसबारे थप अध्ययन गर्नुपर्ने आवश्यकता रहेको पूरक विचार राख्नुभएको थियोे ।. कार्यक्रममा सहभागीका तर्फबाट नाछिङ राई,शान्ति चौधरी,कुछतनारायण चौधरी र रजमी धिमाल लगायतले आआफ्नो धारणा राख्नुभएको थियोे । यसैगरी दङ्गौरा भाषामा भूमिका थारु ,याम्फू भाषामा भानुभक्त राई र अवधी भाषामा कनकलता आर्याले कविता वाचन गर्नुभएको थियोे । यस कार्यक्रमको सहजीकरण प्रज्ञा-प्रतिष्ठानका कर्मचारी एवम् कवयित्री राधा कार्कीले गर्नुभएको थियोे ।