डोटी । २०८१ जेठ ३० । नेपाल प्रज्ञा-प्रतिष्ठानको आयोजना र सुदूरपश्चिम प्रज्ञा -प्रतिष्ठानको सहआयोजना तथा मार्क्सवादी अध्ययन प्रतिष्ठान धनगढीको समन्वयमा डोटीको सिलगढीमा डोटेली भाषा, कला र साहित्यको संरक्षणका लागि बौद्धिक बहसको आयोजना गरिएको थियोे ।
कार्यक्रममा डोटेली भाषा र कला साहित्य सम्बन्धी कार्यपत्र डोटी बहुमुखी क्याम्पस सिलगढीका अध्यापक फणेन्द्रबहादुर साउदले प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमा खुला छलफल गरिएको थियो ।












पछिल्लो समय डोटेली भाषाको अस्तित्व मेटिने अवस्थामा पुगेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान धनगढीका उपकुलपति डा. टिएन जोशीले बताउनुभएको थियोे । नेपालमा सबैभन्दा बढी बोलिने भाषा मध्येको डोटेली भाषालाई २०७८ को जनगणनामा नियोजित रूपमा कम देखाउने काम भएकाले त्यसको विरुद्धमा यस्ता कार्यक्रमको आयोजना गर्नु परेको उहाँको भनाइ थियो । डोटेली भाषा एउटा डोटी जिल्लाको मात्रै नभएर तत्कालीन डोटी राज्यको भएकाले सुदूर पश्चिमका अन्य पहाडी जिल्लामा बोलिने भाषा पनि डोटेली रहेको उपकुलपति जोशीले बताउनु भएको थियो ।भाषा एक पुस्तामा रहेको संस्कृति, ज्ञान, सिप, अनुभव अर्को पुस्तामा हस्तान्तरण गर्ने एउटा माध्यम भएकाले भाषा मासिँदै जानु पुर्खामा भएको ज्ञान, संस्कृति, अनुभव हराउनु रहेको नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले बताउनु भएको थियोे । भाषा कालान्तरमा गएर मर्ने भए पनि सांस्कृतिक रूपमा जीवित रहनु पर्ने उहाँको भनाइ थियो । उहाँले भाषालाई स्थापित गर्न होडबाजी चलेको बताउनु भएको थियोे । उहाँले ‘अहिले भाषालाई जिल्लासँग जोडेर नामकरण गरिएको छ हामीले जनगणनामा स्थापित गरेका छौँ । तर त्यो भाषा हुनलाई उहाँले त्यो भाषा बोल्नु हुन्छ की हुन्न ? भाषा स्थापित गर्न त्यसको व्याकरण, शब्द भण्डार चाहियो, त्यसमा साहित्य लेख्नु पर्यो र त्यसलाई मान्यता दिनुपर्यो ।’
भाषामा भाषिका हुने कुरा स्वाभाविक रहेको डा. सुवेदीको भनाइ रहेको थियोे । भाषा बोल्ने नभएर भाषिका बोल्ने बताउनु भएको थियोे । डोटी, डडेल्धुरा, अछाम, बझाङ, बैतडी लगायतका जिल्लामा बोलिने भाषीका भएकाले ती भाषीकाबाट प्रतिनिधिमूलक छानेर डोटेली भाषा स्थापित गर्नुपर्ने उहाँले बताउनु भएको थियोे ।
डोटेली भाषा बोल्ने मान्छेसँग सबैले कुरा नै नगर्ने गरेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले बताउनु भएको थियोे । यो ठाउँबाट विभिन्न व्यक्ति पदमा पुगेको भए पनि डोटेली भाषाको संरक्षणको लागि कसैले पनि आवाज नउठाएको उहाँले बताउनु भएको थियोे । प्रमुख सिंहले अध्ययनकर्तालाई गाउँगाउँमा गएर भाषाको खोजी गर्न आग्रह गर्नुभएको थियोे । गाउँमा रहेका पाका उमेर समूहका व्यक्तिहरूले बोल्ने भाषाबाट धेरै कुराको अध्ययन गर्न सकिने प्रमुख सिंहको भनाइ थियोे ।
डोटेली भाषाको संरक्षणका लागि आउने जनगणना आउनुपूर्व नै धेरै काम गर्नुपर्ने चुनौती रहेको मार्क्सवादी अध्ययन प्रतिष्ठान धनगढीका अध्यक्ष केशवनाथ योगीले बताउनु भएको थियोे । यो अवधिमा व्याकरण बनाउने, शब्द भण्डार बनाउने लगायतका काम हुन नसकेमा डोटेली भाषा खण्डीकरण भएर जाने योगीले बताउनु भएको थियो । भाषा खण्डीकरण भएमा सुदूरपश्चिमको देउडा संस्कृति पनि खण्डीकरण हुने उहाँको भनाइ रहेको थियो ।
यस्तै कार्यक्रममा सुदूरपश्चिमको मौलिक लोक संस्कृति, डोटेली भाषा, साहित्य एवम् कलाको संरक्षण, संवर्द्धन तथा विकासमा योगदान पुर्याएको भन्दै दश जनालाई सम्मान गरिएको थियो ।


