काठमाडौँ । नेपाल प्रज्ञा -प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको संयुक्त आयोजनामा प्रगतिशील साहित्यकार टी.आर . विश्वकर्माको ३३ औँ स्मृति दिवसको सन्दर्भमा आयोजित पुस्तक तथा दलितमुक्ति सम्बन्धि गीतको विमोचन एवम् परिचर्चा सम्पन्न भयो । यसअवसरका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला श्रीपालीले प्रगतिशील स्रष्टाहरू क्रमशः रणेन्द्र बराली र डी .डी.अधिकारीद्धारा लिखित ‘नेपाली दलित साहित्यलेखनको इतिहास’, रणेन्द्र बरालीद्धारा लिखित ‘रातो बारूद’ कवितासङ्ग्रह र मुक्तियोद्धा लप्टन लालबहादुर परियारको जीवनी, डम्बर पहाडीद्धारा लिखित ‘डम्बरे दमाईंको बकपत्र’ कवितासङ्गह ,सरोजदिलुद्धारा लिखित ‘मैले छोएको सिन्दुर’ कथासङ्गहका साथै रणेन्द्र बराली, डम्बर पहाडी ,कर्ण विद्रोही र केसर कालिकोटेका दलित मुक्तिबद्व गीतहरूको एल्बमको विमोचन गर्नुभयो ।
यसै क्रममा प्रमुख अतिथि राज्यमन्त्री श्रीपालीले ‘जनयुद्धले जातीय विभेद र छुवाछूत अन्त्यका लागि क्रान्तिकारी भूमिका खेल्यो । तर अहिले भने फेरि विभेदले पराकाष्ठा नाघ्न थालेकामा चिन्ता लागेको बताउनुभयो । उहाँले सामाजिक र सांस्कृतिक क्रान्ति बन्दुकबाट मात्रै नहुने रहेछ । त्यसका लागि माओले सांस्कृतिक क्रान्ति गरे जस्तै हामीले पनि गीत- सङ्गीत र साहित्यको माध्यमबाट सांस्कृतिक क्रान्ति गर्नुपर्ने छ’ भन्नुभयो । यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा- प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले ‘नेपाली समाजको राजनीतिक , सांस्कृतिक रूपान्तरण र प्रगतिशील साहित्य सिर्जनामा टीअार विश्वकर्माले पु-याएको योगदान सबैका लागि प्रेरणादायी भएको बताउनुभयो । यसै क्रममा रणेन्द्र बरालीको ‘रातो बाारूद’बारे समीक्षा गर्दै प्रज्ञा-प्रतिष्ठानका पूर्व परिषद् सदस्य प्रा डा गोपिन्द्र पौडेलले कला र विचारका दृष्टिकोणले कविता सुन्दर रहेको बताउनुभयो ।साथै ‘डम्बरे दमाईंको बकपत्र’को समीक्षा गर्दै डा.हरिप्रसाद सिलवालले सामाजिक छुवाछूत र उत्पीडनलाई गहन रूपमा कविताले चित्रण गरेको उल्लेख गर्नुभयो । यसैगरी कार्यक्रमका अतिथि तथा टिप्पणीकार वरिष्ठ जनवादी गायक माइला लामाले ‘गीतहरूको समीक्षा गर्दै बन्दुकको शक्तिभन्दा कलम र कलाको शक्ति बलियो हुन्छ। अस्त्रशस्त्रले समाजका विकृति विसङ्गतिहरूलाई एकदुईपल्ट मात्र छुनसक्छ ।गीत -सङ्गीत र साहित्यले भने सबैलाई छोइरहेको र घचघच्याइरहेको हुन्छ। त्यसैले साहित्य र कलालाई अझै सुन्दर गतिमा अगाडि बढाउनु पर्दछ’ भन्नुभयो । यसै क्रममा उपन्यासकार कल्पना खरेलले सरोजदिलुद्धारा रचित ‘मैले छोएको सिन्दुर …! कथासङ्गहको समीक्षा गर्दै यसमा अन्तरजातीय विवाह प्रतिको विभेद र छुवाछूतले समाजलाई आक्रान्त पारेको बारे चित्रण गरिएको बताउनुभयो । यस कार्यक्रमको समापन नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष माननीय रणेन्द्र बरालीको अध्यक्षतामा सम्पन्न भयो । यस प्रतिष्ठानका महासचिव रणबहादुर रम्तेलले कार्यक्रमको सञ्चालन गर्नुभयो । (२०८० भाद्र १५ गते शुक्रवार )