काठमाडौँ । चक्रपाणि स्मारक प्रतिष्ठानबाट साहित्यिक पत्रिका ‘चक्रपाणि’को पहिलो अङ्क प्रकाशन भएको छ । यसको सार्वजनिकीकरण प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले गर्नुभयो ।
यसअवसरमा उपकुलपति विमल निभाले ‘भाषा र साहित्यको प्रवर्द्धन गर्दै चक्रपाणि चालिसेले भक्तपुरलाई चिनाउनुभयो । साहित्य,संस्कृति , कला र सभ्य राजनीतिक केन्द्रका रूपमा भक्तपुर स्थापित भएको चर्चा गर्दै ‘चक्रपणि’ साहित्यिक पत्रिका पठनीय र स्तरीय रहेको’उल्लेख गर्नुभयो । यस कार्यक्रमका अतिथि एवम् समालोचक डा. विन्दु शर्माले ‘ चक्रपाणि साहित्यिक पत्रिकामा प्रकाशित लेख रचनाहरू उत्कृष्ट रहेको चर्चा गर्दै यस पत्रिकालाई अझै स्तरीय बनाउन र समावेशी सिद्धान्तमा ध्यान दिनु पर्दछ ‘भन्नुभयो ।

यसैक्रममा अतिथि एवम् समलोचक महेश पौड्यालले ‘यस पत्रिकामा प्रकाशित कवितालगायतका विविध साहित्यिक सामग्रीहरू आकर्षक भएपनि उस्तै लेखहरू दोहोरिएको चर्चा गर्दै यस्ता कमजोरीलाई आगामी अङ्कमा सुधार गर्न ध्यान दिनु पर्दछ’ भन्नुभयो । यस स्मारक प्रतिष्ठानका सदस्य सचिव तथा रामगोपाल आशुतोष ‘चक्रपाणि’ साहित्यिक पत्रिकाको कार्यकारी सम्पादक हुनुहुन्छ । कृष्ण बाउसे ,पञ्चकुमारी , राधिका कल्पित, कञ्चन गजमेर, प्रजेश खड्का, रमि प्रिया, रचना मोक्तान, सामना पहाड, शान्तिराम भट्टराई, सुमित्रा सुमिलगायतका कविहरूले कविता वाचन गर्नुभयो । यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका -५ कटुञ्जेस्थित पारिजात बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सम्पन्न भएको यस कार्यक्रममा चक्रपाणि स्मारक प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलले धन्यवाद ज्ञापनसहित पत्रिका निरन्तर प्रकाशित हुने बताउँदै चालिसेलाई पुरानो राष्ट्रिय गानको रचनाकार मात्रै नभनी कोशकार, व्याकरणविद्, भाषासेवी र गद्यनायकका रूपमा अध्ययन गर्नुपर्ने ‘ बताउनुभयो ।

(२०८० भाद्र १६ गते, शनिवार)