तनहुँ , २०८२ असार १४ -१५ गते। गण्डकी प्रदेशको तनहुँमा गण्डकी प्रदेश स्तरीय प्रज्ञा—नारी काव्य सङ्गोष्ठी आयोजना गरिएको थियोे । नेपाल प्रज्ञा—प्रतिष्ठान काव्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नेपाल नाटक मञ्चको सहयोगमा सम्पन्न यस कार्यक्रममा गण्डकी प्रदेशका नवलपुर, गोर्खा, लमजुङ, कास्की, तनहुँ, बागलुङ, पर्वत स्याङजा, म्यादी, जिल्लाका २८ जना महिला कविहरूले कवितावाचन गर्नुभएको थियोे।
कार्यक्रममा सहभागीहरूद्वारा गण्डकी प्रदेशमा यस प्रकारको प्रदेशस्तरीय नारी काव्य सङ्गोष्ठी आयोजना गरेकोमा नेपाल प्रज्ञा-प्रतिष्ठानलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो ।



सङ्गोष्ठीको उद्घाटन सत्रका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरूभक्त श्रेष्ठले वर्तमान समयका नारीहरू आफैँले अवसरको खोजी गरिरहेको बताउनुभएको थियो।उहाँले विगतमा साहित्यिक सिर्जनामा परनिर्भर, सहनशील, त्यागमयी र आर्दश गृहणी जस्ता शब्दले नारीलाई सम्बोधन गर्ने र सीमित घेरामा राखी कमजोर पात्रको रूपमा चित्रण गरिएको उल्लेख गर्दै समय क्रमसँगै आएको चेतना, शिक्षा र लैङ्गिक समानताका आन्दोलनहरूले नै नारी साहित्यकारहरूमा उल्लेखनीय परिर्वतन आएको चर्चा गर्नुभएको थियो ।सङ्गोष्ठीका विशिष्ट अतिथि नेपाल प्रज्ञा—प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले नारी साहित्यकारहरूले लेखेका साहित्यले परिवर्तनलाई अझै मजबुत बनाउन मद्त पुर्याउँदै आएको बताउनुभएको थियो। उहाँले सङ्ख्यात्मक र गुणात्मक रूपले नेपाली साहित्यमा नारीहरूको महत्त्वपूर्ण उपस्थिति रहेको र सातै प्रदेशमा नारी कविहरूको लेखनको अवस्था के कस्तो छ ?भन्ने बारे प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको यस प्रज्ञ नारी काव्य सङ्गोष्ठीबाट जानकारी लिन मद्दत पुग्ने बताउनुभएको थियो। नेपाल प्रज्ञा—प्रतिष्ठानका भौतिक संसाधन महाशाखा प्रमुख, कवि सन्ध्या पहाडीले नारी लेखनको विषयबारे चर्चा गदै नारीहरूले घरधन्दा, दु:ख र पीडाका कुराहरू मात्र होइन आफ्ना सबै अनुभवलाई साहित्यमा समेट्नु पर्ने बताउनु भएको थियोे।
सङ्गोष्ठीमा डा. अम्बिका आर्यालले प्रस्तुत गर्नुभएको गण्डकी प्रदेशका नारी कविहरू शीर्षकको कार्यपत्रमाथि कल्पना चिलवाल र अञ्जना तिवारीले टिप्पणी प्रस्तुत गर्नुभएको थियो । सहयोगी संस्था गीतल प्रतिष्ठानका उपाध्यक्ष शान्ता बस्नेतले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रमको सहजीकरण संस्थाका सहसचिव कल्पना घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा गीतल प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारी सचिव माधव न्यौपाने लगायतले आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो ।


