काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान ‘नेपाली भाषा,कोश र व्याकरण’विभागद्वारा सामाजिक मन्त्रालय कर्णाली प्रदेश तथा मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौँसँगको सहकार्यमा खस भाषाको शब्दकोश”खसिया आखर” एक समारोहबिच लोकार्पण गरिएको थियो ।
प्रमुख अतिथि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खस भाषाको शब्दकोश ‘खसिया आखर’को लोकार्पण गर्दै यसले तत्कालीन विशाल खस राज्यको ऐतिहासिक पृष्ठभूमिसहित खस भाषाका वक्ता र प्रयोक्ताका माझ कोश उपयोगी मात्रै नभई खस भाषा,साहित्य र संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएको बताउनुभएको थियोे।मन्त्री भण्डारीले कोशकार रमानन्द आचार्यको योगदानलाई कदापि भुल्न नसकिने बताउँदै कर्णालीको खस राजनीति कालक्रममा कमजोर भएतापनि खस भाषाको प्रभाव र महत्त्व उत्तिकै प्रभावकारी छ भन्ने इतिहास प्रमाणित भएको चर्चा गर्नुभएको थियोे ।उहाँले खस भाषा मातृभाषाको रूपमा रहेकाले भाषाको जगेर्ना र पुस्तान्तरणमा टेवा पुग्ने अपेक्षा गरिएको उल्लेख गर्दै ‘खसिया आखर’ कर्णालीको भाषा, साहित्य र संस्कृतिको पुस्तान्तरण गर्न मार्गदर्शन बन्ने बताउनुभएको थियोे।मन्त्री भण्डारीले योगी नरहरिनाथका कृतिहरूसहित कर्णालीको भूगोल र संस्कृतिसँग जोडिएका पुस्तकहरूको सङ्कलन तथा अभिलेखन गर्ने कार्यहरूमा मन्त्रालय लागिपर्ने बताउनुभएको थियोे ।




























विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्दै२०३७ सालमा जुम्ला पुग्दाआफूले खस भाषा बारे जानकारी पाएको उल्लेख गर्दै ‘खसिया आखर’ खस भाषाको शब्दकोश लोकार्पण हुँदा गर्वबोध भएको बताउनुभएको थियोे ।उहाँले नेपाली भाषाको आरम्भ नै खस भाषाबाट भएको चर्चा गर्दै खस भाषाको संरक्षणमा खसिया आखर ऐतिहासिक दस्तावेज भएको बताउनुभएको थियोे ।
सभाध्यक्ष नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ‘खसिया आखर’ खस भाषा शब्दकोशको महत्त्व सर्वाधिक रहेको बताउनु भएको थियो ।उहाँले ‘खसिया आखर’ जस्तो बृहत् खस भाषाको शब्दकोश निर्माण गरेकामा कोशकार रमानन्द आचार्यको विशेष योगदान बारे प्रकाश पार्नुभएको थियोे ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य समालोचना तथा साहित्येतिहास विभाग प्रमुख डा. मधुसूदन गिरीले जुम्लाका राजा बलिराज शाहीले युद्धको खर्च जुटाउन देउसीभैलो सुरु गरेका थिए ।यो संस्कृति र खस भाषाको विकास त्यहीँबाट भएको उल्लेख गर्नुभएको थियोे।नेपाली भाषाकै मातृभाषाको रूपमा रहेको खस भाषाको जगेर्ना र पुस्तान्तरणमा यो शब्दकोशले टेवा पुग्ने अपेक्षा गर्नुभएको थियोे ।
भाषाविद् प्राडा माधवप्रसाद पोखरेलले खस भाषाको शब्दकोश खसिया आखरको चर्चा गरिरहँदा योगी नरहरिनाथ र बालकृष्ण पोखरेल लगायतलाई पनि बिर्सन नहुने बताउनुभएको थियोे ।उहाँले खस भाषाका केही शब्द संस्कृतका केही शब्दहरूभन्दा पनि जेठो भएकाले खसभाषा नै पुरानोभाषा हुनसक्ने तर्क समेत प्रस्तुत गर्नुभएको थियोे ।
कोशकार रमानन्द आचार्यले खस भाषाको कोश ‘खसिया आखर’ तयारीका अनुभव ,शब्द सङ्कलन,उत्पति ,वर्णविन्यास र उच्चारणशैली बारे आफ्नो धारणा राख्नुभएको थियोे ।
चन्दननाथ नगरपालिका १ जुम्ला निवासी रमानन्द आचार्य वि.सं २०६५ सालदेखि
‘खसिया आखर’ शब्दकोष निर्माणमा जुट्नुभएको थियोे ।७८ वर्षीया रमानन्द आचार्यको झन्डै दुई दशक लामो मेहनतपछि १३४० पृष्ठको खसभाषको शब्दकोश खसिया आखर’ प्रकाशनमा आएको हो।यसको प्रकाशन कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले गरेको हो ।शब्दकोशमा ४० हजार खसभाषाका शब्दहरू सङ्गृहीत गरिएका छन् ।खसिया आखर’को प्रधान सम्पादक कोशकार रमानन्द आचार्य ,सम्पादन मण्डलमा सिञ्जाका तुङ्गनाथ उपाध्याय, तातोपानीका प्रकाश खत्री, चन्दननाथका दयादत्त हमाल, तातोपानी लाम्रा निवासी हरिबाबु चौलागाई रहनुभएको छ।
सिञ्जा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले खस भाषाको दस्तावेज नहुँदा विद्यालयको पाठ्यक्रमसमेत बन्न कठिन भएको थियो।यस शब्दकोश ‘खसिया आखर’ले पाठ्यपुस्तक उत्पादन र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनु भएको थियोे ।
लोकार्पण समारोहको स्वागत मध्यपश्चिम खस साहित्य समाजका अध्यक्ष समीर शाहले गर्नुभएको थियो ।अधिकारकर्मी तथा लेखक माधव चौलागाईंले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
सम्प्रेषण : प्राज्ञ चेतनाथ धमला


