काठमाडौँ । कवि ,गीतकार तथा कथाकार नारायण थापा ‘कल्पित’द्वारा रचित ‘चाँदनी’ उपन्यास-२०८० , ‘उल्टो म’कथासङ्ग्रह -२०८० ‘कौसीमा हेरेर’ र ‘मूल्यत पाइन्छ’ म्युजिक भिडियो -२०८० बजारमा आएका छन् । प्रस्तुत कृतिलाई प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ‘प्रज्ञा-प्रतिष्ठानको पारिजात’ कक्षमा एकभव्य समारोहबिच विमोचन गर्नुभयो । यसअवसरमा कुलपति राईले ‘नारायण थापा ‘कल्पित’का सिर्जनामा आफ्नोपन र शैली छ । उहाँका प्रकाशित कृतिले मानवीय पक्ष र स्वभावलाई आत्मसात् गरेकाले यस्तै नयाँनयाँ कृतिको फेरि पनि अपेक्षा रहेको बताउनुभयो । यसैगरी नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले चाँदनी ,उल्टो म ,कौसीमा हेरेर र मूल्यत पाइन्छ जस्ता रचनाले रचनाकारलाई हेर्ने र बुझ्ने दृष्टिकोण प्रस्ट पारेको छ ।यसलाई थप ऊर्जाको रूपमा लिनुपर्ने बताउनुभयो ।
यस विमोचन कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका संरक्षक प्रा.डा. रामप्रसाद पोख्रेल’आँखा बा’, सङ्घका निवर्तमान अध्यक्ष प्रा.डा. तीर्थप्रसाद मिश्र र सङ्गीतकार सन्तोष श्रेष्ठ लगायतका महानुभावहरूको उपस्थिति रह्यो । यस कार्यक्रमको स्वागत मनतव्य ग्रीन भ्याली समाज,जोरपाटीका सचिव योगेन्द्र खतिवडा र यसको सञ्चालन वागमती टेलिभिजन सभ्यता कार्यक्रमका प्रस्तोता माधव भुसालले गर्नुभयो ।यसैगरी ग्रीन भ्याली समाजका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा सो विमोचन कार्यक्रम सम्पन्न भयो ।
(२०८० भदौ २३ शनिवार )