अमेरिका ,बोस्टन । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा अनेसास बोस्टन च्याप्टर, अमेरिकाले हालै आफ्नो साधारण सभा तथा स्रष्टा सम्मान समारोहको आयोजना गरेको थियोे ।सो कार्यक्रम अमेरिकाको बोस्टनस्थित पशुपतिनाथ-बुद्ध मन्दिरमा सम्पन्न भएको थियो।
यसअसरमा कुलपति राईले कार्यक्रमलाई सम्बोधन गर्दै ‘नेपाली साहित्य ,संस्कृति र कला अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिँदा आफूलाई गर्वको अनुभूति भएको छ ।यसक्षेत्रको संरक्षण र प्रवर्द्धनमा प्रवासमा रहेका नेपालीले महत्त्वपूर्ण योगदान पु-याएका छन् ।यस सुखद कार्यमा नेपाली प्रवासी स्रष्टाको जति प्रशंसा गरेपनि कमै हुन्छ’ भन्दै अनेसास नेपाल च्याप्टरका निवर्तमान महासचिव तथा कवि ऋषभदेव घिमिरेलाई सम्मान र कवि शकुन ज्ञवालीलाई ‘नारी तारा’उपाधिद्वारा सम्मान गर्नुभएको थियो।
यसैगरी कुलपति राईले कार्यक्रममा न्यूइङ्ल्यान्ड क्षेत्रमा रही नेपाली संस्कृति , समुदाय र साहित्यको उत्थानमा योगदान दिँदै आएका पशुपतिनाथ -बुद्ध फाउन्डेसन अफ न्यु इङ्ल्यान्डको बोर्ड अफ टस्ट्ीका सभापति सुशील पौडेल, कार्यसमितिका अध्यक्ष विष्णु कार्की, ग्रेटर बोस्टन नेपाली कम्युनिटीकी अध्यक्ष अञ्जु थापा, एनआरएनए उत्तरी अमेरिका क्षेत्रको पूर्वमहिला संयोजक तृष्णा काफ्ले शर्मा, एनआरएनए मासाच्युसेट्सका अध्यक्ष प्रचण्ड श्रेष्ठ, नरउड लायन्सका अध्यक्ष जाल घिमिरे, मेट्रो वेस्ट नेपाली कम्युनिटी,नरउडका अध्यक्ष सुरेश ढकाल, सृजनशील महिला समूह, नरउडकी अध्यक्ष सानु बर्मा अधिकारी, सङ्गीत क्षेत्रबाट रञ्जन बुढाथोकी, प्रेमसागर खतिवडा, सुशील गौतम, राजकपुर, श्याम नेपाली, सुन्दर गुरुङ, राम थापा, मीन केसीलगायतलाई सम्मान स्वरूप कदरपत्र प्रदान गर्नुभएको थियो।यसैगरी राईले कविद्वय महेश्वर पन्तद्वारा रचित ‘उडेका पैताला’ र अनु शाहद्वारा रचित कवितासङ्ग्रह ‘अनुराग’को विमोचन गर्नुभएको थियोे । यस कार्यक्रममा कविहरू दीपा राई पुन ,अनु शाह ,ममता कर्माचार्यले कविता वाचन र ऋषभदेव घिमिरेले ‘उडेको पैताला’ कवितासङ्ग्रहको समीक्षात्मक मनतव्य राख्नुभएको थियोे ।
यसैगरी शुभकामना मनतव्यको क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य /काव्य ) विभाग प्रमुख बाबा बस्नेतले प्रवासमा रहेर पनि मेहनतका साथ नेपाली साहित्यको विकासमा भूमिका खेल्न सक्नु उल्लेखनीय पक्ष हो भन्नुभएको थियोे ।
यस्तै अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्वन पुजाले आफूले नेपाली साहित्यलाई विश्वका कुनाकुप्चामा पु-याउनु निरन्तर लागिपर्ने आफ्नो शुभकामना मनतव्यमा बताउनुभएको थियोे।
यसैगरी कार्यक्रममा अनेसासका वरिष्ठ उपाध्यक्ष विजय शर्मा, कवयित्री शकुन ज्ञवाली समेतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।यस कार्यक्रमको अध्यक्षता अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तले गर्नुभएको थियोे ।


