काठमाडौँ । कवि तथा प्राध्यापक एल.बी. क्षेत्रीद्वारा रचित कवितासङ्ग्रह ‘को हो त्यो मान्छे?’ प्रकाशित भएको छ । प्रस्तुत कविता सङ्ग्रहको प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई र मीना लामिछाने ट्रस्टकी अध्यक्ष मीना लामिछानेले संयुक्तरूपमा लोकार्पण गर्नुभयो ।
यस प्रज्ञा-प्रतिष्ठानको पारिजात कक्षमा ‘को हो त्यो मान्छे ?’ को लोकार्पण सम्पन्न भयो ।यस अवसरमा कुलपति राईले नेपाली र अङ्ग्रेजी भाषाका कवि तथा साहित्यिक अभियन्ता एल. बी. क्षेत्रीका कवितामा देश प्रेम ,माटोको सुगन्ध र वर्तमान समयको चित्रण भएको चर्चा गर्दै कविता आफैँमा आन्दोलन र सिद्धान्त पनि हो भन्नुभयो ।यसैगरी विशिष्ट अतिथि तथा आख्यानकार,कवि भुवन ढुङ्गानाले एल.बी.क्षेत्रीलाई देख्दा फिलिमको सक्रिय कलाकार जस्तो लाग्छ । प्रस्तुत सङ्ग्रहभित्र सङ्गृहित कविता राम्रा लाग्छन् तर सोझो र सपाट लाग्ने केही राजनीतिका कविता नराखेको भए झनै सुन्दर हुन्थ्यो भन्नुभयो ।
यसैक्रममा अतिथि तथा समालोचक महेश पौड्यालले कविताको विवेचना उपकरणको भासभन्दा माथि उठ्नुपर्छ । अबका दिनमा कविता आफूले बोकी ल्याउने सत्य प्रतिको निष्ठाको कसीमा हुनुपर्छ ।साथै पाठक, आलोचक र व्याख्याताका लागि एल.बी. क्षेत्री एक निर्भीक, भयरहित र प्रस्ट कवि हुन् भन्नुभयो ।
यसैगरी ‘को हो त्यो मान्छे’ कवितासङ्ग्रका रचयिता एल.बी क्षेत्रीले मेरा कविता म जस्तै कविता कोर्ने सबै कविलाई समर्पित गरेको छु | म होरेस र मेथु अर्नाल्डको स्कुलिङ्गबाट आएको हुँ।त्यसैले मैले कविताद्वारा आफूले देखेको सत्य बोल्न चाहन्छु भन्नुभयो ।यस लोकार्पित सङ्ग्रहबाट प्रज्ज्वल अधिकारी,भवानी खतिवडा र भैरवी भूगोलले कविताबाचन गर्नुभयो ।यसैक्रममा महाकाव्यकार भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न भएको यस लोकार्पण कार्यक्रमको स्वागत मनतव्य डा. अशोक थापाले राख्नुभयो ।
(२०८० भाद्र ९गते शनिबार)