काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा १८ औँ राष्ट्रिय गणतन्त्र दिवसका सन्दर्भमा आयोजित ‘कविता उत्सव’ – २०८२को पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे।प्रमुख अतिथि पाण्डेले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन कविका कविता र साहित्यकारका सिर्जनाले जनतालाई जागृत गराएको इतिहास छ।लोकतन्त्र र गणतन्त्रको विकल्पमा अर्को व्यवस्थाको खोजी गर्नु भनेको गोलचक्रमा फस्नु हो।संवैधानिक वा सक्रिय कुनै प्रकारको राजा आउने सम्भावना छैन। यस्तो चेष्टा गरेर जनताको अधिकार हनन गर्न खोज्नु आफैँ गोलचक्रमा फस्नु हो र राजा ल्याउने भन्ने कुराले कसैको हित नहुने धारणा मन्त्री पाण्डेले व्यक्त गर्नुभएको थियो ।गणतन्त्रमा जे जे समस्या र जटिलता छन् तिनको परिष्कार गर्दै अघि बढ्नका निम्ति कविताको माध्यमद्वारा जनमत सिर्जना गर्न लागि पर्नुपर्ने समय आएको उहाँको धारणा थियोे।गणतन्त्रमा केही भएन भन्ने भाष्य निर्माण हुनु चिन्ताजनक रहेकाले प्राज्ञिक र बौद्धिक तहतप्काले त्यस मिथ्यालाई चिर्नुपर्ने बताउनु भएको थियोे ।कवि मनले अपराध नभइकन निष्ठा र इमानको बाटो रोज्ने गर्छ।कवि हृदय भएका मानिसले संवेदनशीलता बुझ्ने भएकाले लोकतन्त्र र गणतन्त्रको समृद्ध समाज निर्माणका लागि अपरिहार्य रहेको मन्त्री पाण्डेको भनाइ थियोे ।साथै बाचित कविताहरूले गणतन्त्रको मर्म र मूल्यबोध गरेको बताउँदै संसदमा अभौतिक सम्पदाको विधेयक प्रस्तुत भएको बताउनु भएको थियो।उहाँले संस्कृति ,पर्यटन र हवाई ऐन र नीति निर्माण गर्न आफू लागि परेको बताउनुभएको थियोे।


कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले धन्यवादसहित समापन मनतव्यका क्रममा पहिलोपटक दर्शन एवम् दोस्रोचोटि दुखान्त र प्रहसनको रूपमा इतिहास दोहोरिने सम्भावना भएपनि टिकाउनु नहुने बताउनुभएको थियोे।उहाँले गणतन्त्र भएकाले नै हामीले बोल्न पाएका छौँ ।गणतन्त्रविरुद्ध सडकबाट उठेको आवाज विल्कुलै युग सापेक्षित छैन ।अहिले संसारभरि गणतन्त्रको लहर चलिरहेको बताउँदै “कविता उत्सव”मा बाचित कविताको लेखन ,भाषा र शैली जे भएपनि आजको गणतान्त्रिक चेतलाई आत्मसात् गरेको बताउनु भएको थियो ।

गणतान्त्रिक ‘कविता उत्सव’ – २०८२मा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य तथा प्रसिद्ध कवि श्रवण मुकारुङलगायत १९ जना कविले आआफ्नो मातृभाषामा कविता वाचन गरेका थिए।जसमध्ये कविहरू प्रोल्लास सिन्धुलीय, केशव सिलवाल,शकुन्तला जोशी,मिश्रामाया गुरुङ, विना थिङ,केवल बिनावी,रिमा के.सी,अनिल श्रेष्ठ र सुरज रानाले नेपाली भाषामा कविता वाचन गरेका थिए।यसैगरी मैथिलीभाषामा रुपा झा ,नेपाल भाषामा रजनिमिला महर्जन,खसभाषामा
ओम रिजाल, थारुभाषामा भूमिका थारु ,डोट्याली भाषामा कर्णदयाल सोराडी, तामाङभाषामा मुक्तान थेबा, थुलुङ भाषामा महेन्द्र थुलुङ राई र लिम्बूभाषामा भीमा खजुमले गणतान्त्रिक चेतनाले ओतप्रोत भएका कविता वाचन गर्नुभएको थियोे।




















