इलाम । नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजले संयुक्त रूपमा २०८० चैत १६ र १७ गते ‘पर्यटनका लागि साहित्य’ भन्ने उद्घोषका साथ तेस्रो इलाम साहित्य महोत्सवको आयोजना गरेको थियोे ।
प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गर्नुभएको थियोे । यस अवसरमा उहाँले ‘संस्कृति भनेको चिन्तन प्रणाली भएकाले मौलिक ज्ञान र सांस्कृतिक सत्ताको स्थापनाविना देश सम्पन्न नहुने बताउनु भएको थियोे ।
यसैगरी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘नेपालको संरचनात्मक सङ्कट र दिगो समाधानको बाटो’ शीर्षकमा आफ्नो मुख्य विचार प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी महोत्सवको पहिलो दिन पत्रकार बच्चु हिमांशुले सहजीकरण गर्नुभएको ‘सङ्घीयता : यस्तै वा कस्तो’ सत्रमा राजनीतिककर्मीहरू नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीबीच बहस भएको थियो ।
यसैगरी कवि हेमन यात्रीले सहजीकरण गरेको ‘कवितामा के छ’ सत्रमा कविहरू सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाको बहस गर्नु भएको थियो ।यसैगरी उपप्राध्यापक राजिन पनेरुले सहजीकरण गरेको ‘मिथकदेखि मिथकसम्म’ सत्रमा महोत्सवका विशेष अतिथि ,प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र डा.अरुण गुप्तोले मिथकका विभिन्न आयामबारे बहस गर्नुभएको थियोे ।
यस क्रममा डा.सुवेदीले मिथकको अर्थ, यसको गठन, इतिहाससँग मिथकको सम्बन्ध र मौखिक परम्पराबारे चर्चा गर्नुभएको थियोे ।यसै क्रममा डा.गुप्तोले मिथक निर्माण र कथाहरूमा यसको महत्त्वबारे पश्चिमी साहित्यको प्रभाव र अन्तर्दृष्टिलाई प्रस्तुत गर्नुभएको थियोे ।
यस्तै कवि वियोगीले सहजीकरण गरेको ‘सीमा, साहित्य र संस्कृति’ सत्रमा लेखकहरू डा.कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेली मगरले बहस गर्नुभएको थियोे भने ‘पोइट्री इन मुभमेन्ट’मा कवि राजा पुनियानीको एकल प्रस्तुति रहेको थियो ।
यसैगरी पत्रकार प्रजु पन्तले सहजीकरण गरेको ‘बदलिँदो विश्व : फेरिँदो स्थानीयता’ सत्रमा धर्मेन्द्र नेम्बाङ, रोहेज खतिवडा र रञ्जित तामाङबीच बहस भएको थियो । सुनिता तामाङले सहजीकरण गरेको ‘चारखोलको रङ्गमञ्च’ सत्रमा सुरेश पोर्तेल र चेतन आङ्थुपोबिच बहस भएको थियो ।यस्तै ‘नेपाल–२०३० : समुन्नतिका लक्ष्य, चुनौती र इलाम सन्दर्भ’ शीर्षकमा अर्थविद् तथा सांसद डा.स्वर्णिम वाग्लेले मन्तव्य दिनुभएको थियोे ।
पहिलो दिन ‘कविताको स्वर’ सत्रमाले गद्य कवितावाचन रहेको थियो भने ‘छन्द सुगन्ध’ सत्रमा कविता वाचन पनि आयोजना भएको थियो । यसमा वाचित कविताहरूमा डा.तुलसी गौतमले टिप्पणी गर्नुभएको थियोे ।
यस महोत्सवको दोस्रो दिन प्रा.डा.अभि सुवेदीसँग ‘उमेरको कथा’ शीर्षकमा निबन्धकार तथा पत्रकार दीपक सापकोटाले विमर्श गर्नुभएको थियो । यस बहसमा सुवेदीले सन् ६० को दशकमा काठमाडौँमा हिप्पीहरूले बिताएका पुराना दिनको स्मरण गर्नुभएको थियोे। उहाँले आफ्ना युवावस्थाका दिनहरू सम्झिँदै, स्कटिस गीतहरू पनि गाउनु भएको थियोे । उहाँले लेखक भीएस नयपलको ‘वृद्धावस्थामा लेखकहरू पुर्नलेखन मात्रै गर्छन्, केही नयाँ लेख्दैनन्’ भन्ने विचारलाई पूर्ण अस्वीकार गर्नुभएको थियोे ।
यसैगरी लुना खतिवडाले सहजीकरण गरेको ‘संरक्षण र पर्या-पर्यटनका कुरा’ सत्रमा दीपेन्द्र कर्ण र डा. अस्मिता बिष्टबिच बहस भएको थियो । सुमन लिङ्देनले सहजीकरण गरेको ‘मातृभाषाको सकस’ सत्रमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुबिच बहस भएको थियो ।
यस्तै पत्रकार सुरज सुवेदीले सहजीकरण गरेको ‘सिनेमा : कस्तो मौलिकता’ सत्रमा नायिका केकी अधिकारी र फिल्म निर्देशक मीन भामबिच बहस भएको थियो । समीक्षक राजकुमार बानियाँले सहजीकरण गरेको ‘आख्यान: अन्तिम पात र नयाँ पालुवा’ सत्रमा लेखकहरू नारायण ढकाल र वसन्त बस्नेतबिच बहस भएको थियो भने उदय अधिकारीले सहजीकरण गरेको ‘अक्षर मोह : अक्षर यात्रा’ सत्रमा लेखकहरू शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयबिच कुराकानी भएको थियो ।यसैगरी राजा पुनियानीले सहजीकरण गरेको ‘प्रतिरोधी साहित्य’ सत्रमा प्रणय शङ्कर (दार्जिलिङ), विक्रम हथवार (कर्नाटक) र रुमी लसकर बोरा (आसाम) बिच बहस भएको थियो ।यस्तै पत्रकार टीकाराम यात्रीले सहजीकरण गरेको महोत्सवको अन्तिम सेसन ‘कस्तो राजनीति’ सत्रमा राजनीतिककर्मी तथा चिन्तकहरू डा.सीके राउत, प्रदीप ज्ञवाली र विश्वप्रकाश शर्माबिच बहस भएको थियो । गजल साँझसँगै महोत्सव समापन भएको थियो ।यस महोत्सवका संयोजक तथा प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले समेत आफ्नो धारणा राख्नु भएको थियो ।यसैगरी महोत्सवको अन्तिम दिन दशजना चित्रकारहरूले सिर्जना गरेका पाण्डा (हाब्रे) संरक्षणमा आधारित चित्रकलाको प्रदर्शनी पनि राखिएको थियो ।
यस महोत्सवमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई , नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राई र इलाम नगरपालिकाका प्रमुख केदार थापाले साहित्यकार तथा पत्रकार राधेश्याम लेकाली,कलाकार कोमल निरौला र मूर्तिकार विष्णुप्रसाद श्रेष्ठ लाई सम्मान गर्नुभएको थियोे । तीनैजना स्रष्टालाई नगद पन्ध्र हजार राशिसहित सम्मानपत्र र दोसल्लाले अर्पण गरिएको थियोे ।
यस महोत्सवमा नेपाल र भारतका दुई सयभन्दा बढी साहित्यकार , लेखक र राजनीतिकर्मी लगायतको सहभागिता रहेको थियोे ।यस महोत्सवमा साहित्य, कला, संस्कृति, राजनीति, अर्थतन्त्र र समाजसँग सम्बन्धित २० वटा सत्र समेटिएको थियो ।यस महोत्सवमा आयोजकले साठीभन्दा बढी विषयगत विज्ञहरूलाई समेटेर समूहगत छलफल गराउनु भएको थियोे ।( २०८०चैत १९)


