इलाम । नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजले संयुक्त रूपमा २०८० चैत १६ र १७ गते ‘पर्यटनका लागि साहित्य’ भन्ने उद्घोषका साथ तेस्रो इलाम साहित्य महोत्सवको आयोजना गरेको थियोे ।
प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गर्नुभएको थियोे । यस अवसरमा उहाँले ‘संस्कृति भनेको चिन्तन प्रणाली भएकाले मौलिक ज्ञान र सांस्कृतिक सत्ताको स्थापनाविना देश सम्पन्न नहुने बताउनु भएको थियोे ।
यसैगरी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘नेपालको संरचनात्मक सङ्कट र दिगो समाधानको बाटो’ शीर्षकमा आफ्नो मुख्य विचार प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी महोत्सवको पहिलो दिन पत्रकार बच्चु हिमांशुले सहजीकरण गर्नुभएको ‘सङ्घीयता : यस्तै वा कस्तो’ सत्रमा राजनीतिककर्मीहरू नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीबीच बहस भएको थियो ।
यसैगरी कवि हेमन यात्रीले सहजीकरण गरेको ‘कवितामा के छ’ सत्रमा कविहरू सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाको बहस गर्नु भएको थियो ।
यसैगरी उपप्राध्यापक राजिन पनेरुले सहजीकरण गरेको ‘मिथकदेखि मिथकसम्म’ सत्रमा महोत्सवका विशेष अतिथि ,प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र डा.अरुण गुप्तोले मिथकका विभिन्न आयामबारे बहस गर्नुभएको थियोे ।
यस क्रममा डा.सुवेदीले मिथकको अर्थ, यसको गठन, इतिहाससँग मिथकको सम्बन्ध र मौखिक परम्पराबारे चर्चा गर्नुभएको थियोे ।यसै क्रममा डा.गुप्तोले मिथक निर्माण र कथाहरूमा यसको महत्त्वबारे पश्चिमी साहित्यको प्रभाव र अन्तर्दृष्टिलाई प्रस्तुत गर्नुभएको थियोे ।
यस्तै कवि वियोगीले सहजीकरण गरेको ‘सीमा, साहित्य र संस्कृति’ सत्रमा लेखकहरू डा.कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेली मगरले बहस गर्नुभएको थियोे भने ‘पोइट्री इन मुभमेन्ट’मा कवि राजा पुनियानीको एकल प्रस्तुति रहेको थियो ।
यसैगरी पत्रकार प्रजु पन्तले सहजीकरण गरेको ‘बदलिँदो विश्व : फेरिँदो स्थानीयता’ सत्रमा धर्मेन्द्र नेम्बाङ, रोहेज खतिवडा र रञ्जित तामाङबीच बहस भएको थियो । सुनिता तामाङले सहजीकरण गरेको ‘चारखोलको रङ्गमञ्च’ सत्रमा सुरेश पोर्तेल र चेतन आङ्थुपोबिच बहस भएको थियो ।
यस्तै ‘नेपाल–२०३० : समुन्नतिका लक्ष्य, चुनौती र इलाम सन्दर्भ’ शीर्षकमा अर्थविद् तथा सांसद डा.स्वर्णिम वाग्लेले मन्तव्य दिनुभएको थियोे ।
पहिलो दिन ‘कविताको स्वर’ सत्रमाले गद्य कवितावाचन रहेको थियो भने ‘छन्द सुगन्ध’ सत्रमा कविता वाचन पनि आयोजना भएको थियो । यसमा वाचित कविताहरूमा डा.तुलसी गौतमले टिप्पणी गर्नुभएको थियोे ।
यस महोत्सवको दोस्रो दिन प्रा.डा.अभि सुवेदीसँग ‘उमेरको कथा’ शीर्षकमा निबन्धकार तथा पत्रकार दीपक सापकोटाले विमर्श गर्नुभएको थियो । यस बहसमा सुवेदीले सन् ६० को दशकमा काठमाडौँमा हिप्पीहरूले बिताएका पुराना दिनको स्मरण गर्नुभएको थियोे। उहाँले आफ्ना युवावस्थाका दिनहरू सम्झिँदै, स्कटिस गीतहरू पनि गाउनु भएको थियोे । उहाँले लेखक भीएस नयपलको ‘वृद्धावस्थामा लेखकहरू पुर्नलेखन मात्रै गर्छन्, केही नयाँ लेख्दैनन्’ भन्ने विचारलाई पूर्ण अस्वीकार गर्नुभएको थियोे ।
यसैगरी लुना खतिवडाले सहजीकरण गरेको ‘संरक्षण र पर्या-पर्यटनका कुरा’ सत्रमा दीपेन्द्र कर्ण र डा. अस्मिता बिष्टबिच बहस भएको थियो । सुमन लिङ्देनले सहजीकरण गरेको ‘मातृभाषाको सकस’ सत्रमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुबिच बहस भएको थियो ।
यस्तै पत्रकार सुरज सुवेदीले सहजीकरण गरेको ‘सिनेमा : कस्तो मौलिकता’ सत्रमा नायिका केकी अधिकारी र फिल्म निर्देशक मीन भामबिच बहस भएको थियो । समीक्षक राजकुमार बानियाँले सहजीकरण गरेको ‘आख्यान: अन्तिम पात र नयाँ पालुवा’ सत्रमा लेखकहरू नारायण ढकाल र वसन्त बस्नेतबिच बहस भएको थियो भने उदय अधिकारीले सहजीकरण गरेको ‘अक्षर मोह : अक्षर यात्रा’ सत्रमा लेखकहरू शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयबिच कुराकानी भएको थियो ।यसैगरी राजा पुनियानीले सहजीकरण गरेको ‘प्रतिरोधी साहित्य’ सत्रमा प्रणय शङ्कर (दार्जिलिङ), विक्रम हथवार (कर्नाटक) र रुमी लसकर बोरा (आसाम) बिच बहस भएको थियो ।यस्तै पत्रकार टीकाराम यात्रीले सहजीकरण गरेको महोत्सवको अन्तिम सेसन ‘कस्तो राजनीति’ सत्रमा राजनीतिककर्मी तथा चिन्तकहरू डा.सीके राउत, प्रदीप ज्ञवाली र विश्वप्रकाश शर्माबिच बहस भएको थियो । गजल साँझसँगै महोत्सव समापन भएको थियो ।
यस महोत्सवका संयोजक तथा प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले समेत आफ्नो धारणा राख्नु भएको थियो ।यसैगरी महोत्सवको अन्तिम दिन दशजना चित्रकारहरूले सिर्जना गरेका पाण्डा (हाब्रे) संरक्षणमा आधारित चित्रकलाको प्रदर्शनी पनि राखिएको थियो ।
यस महोत्सवमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई , नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राई र इलाम नगरपालिकाका प्रमुख केदार थापाले साहित्यकार तथा पत्रकार राधेश्याम लेकाली,कलाकार कोमल निरौला र मूर्तिकार विष्णुप्रसाद श्रेष्ठ लाई सम्मान गर्नुभएको थियोे । तीनैजना स्रष्टालाई नगद पन्ध्र हजार राशिसहित सम्मानपत्र र दोसल्लाले अर्पण गरिएको थियोे ।
यस महोत्सवमा नेपाल र भारतका दुई सयभन्दा बढी साहित्यकार , लेखक र राजनीतिकर्मी लगायतको सहभागिता रहेको थियोे ।यस महोत्सवमा साहित्य, कला, संस्कृति, राजनीति, अर्थतन्त्र र समाजसँग सम्बन्धित २० वटा सत्र समेटिएको थियो ।यस महोत्सवमा आयोजकले साठीभन्दा बढी विषयगत विज्ञहरूलाई समेटेर समूहगत छलफल गराउनु भएको थियोे ।( २०८०चैत १९)