नुवाकोट ।
जिटिनको आयोजनामा नुवाकोट तुप्चेमा पर्यटन व्यवसायी अम्बिर गुरुङद्वारा रचित “गाजलीगाथा” एक विशेष समारोहका बिच प्रमुख अतिथि तथा सङ्घीय सांसद हितबहादुर तामाङले लोकार्पण गर्नुभयो । यसअवसरमा उहाँले ” कृति कष्टकर ढङ्गले जीवन बिताउने ग्रामीण आमाहरूको यथार्थ कथाको प्रतिबिम्ब भएको दाबी गर्नुभयो । अम्बिर गुरूङ अत्यन्तै इमान्दार राजनीतिज्ञ र शालीन समाजसेवी त हुँदै हुनुहुन्छ,परन्तु उहाँ बेजोड लेखकीय चेत भएका व्यक्तित्त्व पनि हुनुहुँदोरहेछ भन्ने पुस्टी भएको तामाङले जिकिर गर्नुभयो । एक फरक प्रसङ्गमा भोगिएका यथार्थतालाई जीवन्तरूपमा अभिलिखित गर्न सक्नु पनि सशक्त सिर्जना नै हुने उहाँले बताउनुभयो ।
यसैगरी विशेष अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्रष्टा यथार्थताप्रति इमान्दार रह्यो भने जीवनी र संस्मरण इतिहासभन्दा प्रिय हुन्छ भन्दै जब कृति साधारणीकरण हुन्छ त्यो सर्वप्रिय र लोकग्राह्य बन्छ भन्ने राय व्यक्त गर्नुभयो । सङ्क्षिप्त तर सारगर्भित मन्तव्य दिनुभएका सुवेदीले अम्बिर गुरुङलाई यस्ता खाले अन्य कृति पनि लेख्न उत्प्रेरित गर्नुभयो ।
कार्यक्रमका अतिथि एवम् पूर्व सङ्घीय सांसद राममाया बोगटीले गाजली भाउजूले गरेको अविराम सङ्घर्ष अहिलेका पुस्तालाई कामयावी हुने बताउनुभयो ।
यसैगरी पूर्व प्रदेश सांसद हीरानाथ खतिवडाले आफ्नो छोटो शुभकामना मन्तव्यका सिलसिलामा कृति पठनीय र प्रेरणादायी रहेको बताउनुभयो ।
शुभकामना मन्तव्यकै क्रममा प्रा.डा. प्रेम शर्माले अठोट, इमान्दारी र शालीनता भएका अम्बिर आफ्नो पनि गुरु भएको अवगत गराउनुभयो । ठट्यौलो भाषामा उहाँले थप्नुभयो – ‘अम्बिरले अब एउटा पुस्तक लामिछाने गुरुङको वंशावली केन्द्रित भएर लेख्नुपर्छ ।’ त्यसका निम्ति एउटा पुस्तक कच्चा पदार्थका रूपमा हस्तान्तरण समेत गर्नुभयो ।
यसैगरी कवि तथा उन्मुक्त अभियन्ता माधव घिमिरे ‘अटलले गाजलीगाथाबारे साङ्गोपाङ्ग चर्चा गर्दै पीडाले जलेका, कष्टले पिल्सिएका र हेपाइले उधिनेका सिङ्गो ग्रामीण महिलाको शब्दचित्र नै गाजली-गाथा भएको बताउनुभयो । पुस्तक गरिबीले दारेका र ठालुहरूले लघारेका अभिशप्त मान्छेहरूको जीवनको साझा कहिरन भएको उहाँले बताउनुभयो । यस्तै कृतिकार अम्बिर गुरुङ ‘गोफ्ले’ले आफूले देखेका आमाका भोगाइको इतिवृत्त प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।यस्ता असह्य जीवन अरू धेरैको हुनसक्ने भएपनि आफूलाई लागेको चोटको जलन बेसी दर्दनाक हुने उहाँको स्वीकारोक्ति रह्यो ।
यसै सिलसिलामा वरिष्ठ पर्यटन व्यवसायी बोधराज भण्डारीले गाजली-गाथाआम दुःखी आमाहरूको जीवन्त कथाको उत्कृष्ट अभिलेख भएको मत राख्नुभयो । त्यस्तै अर्का वरिष्ठ पर्यटन व्यवसायी कमल सापकोटाले कृतिले ग्रामीण गरिबीको चित्र उतारेको भनाइ राख्नुभयो । यसै गरी चण्डेश्वरी माविका प्रअ हरिप्रसाद रिजाल र सप्रअ तथा पूर्व प्रअ क्रमशः गणेश लामिछाने र कृष्णप्रसाद भण्डारी, पर्यटन व्यवसायीहरू कुमार थापा, ॠषिराम भण्डारी, शिव लामिछाने, तेज गुरूङ, जिटिनका अध्यक्ष पिताम्बर गुरुङ, चलचित्रकर्मी बिमला के.सी र शिक्षक शिवराम भट्टलगायतले शुभकामना मन्तव्य राख्नुभयो । स्वागत मन्तव्यकै क्रममा बिर्सबहादुर गुरूङले गाजलीमायाका सुखदु:खबारे परिचर्चा गर्नुभयो । प्रस्तुत पुस्तकको लोकार्पण कीर्तिशेष गाजलीमायाका ज्येष्ठ सुपुत्र सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रमको सहजीकरण उत्तरगया गापा वार्ड न• -३ का सचिव आशकाजी गुरुङले गर्नुभयो ।
(२०८० साल, साउन २१ गते, शुक्रबार )