काठमाडौँ । उपन्यास समाजका अध्यक्ष तथा वरिष्ठ उपन्यासकार शङ्कर भारतीद्वारा रचित उपन्यास ‘अनुपम देवता’को तेस्रो संस्करणको अन्तरक्रिया उपन्यास समाज नेपालको आयोजनामा सामाजिक विकास समाज अनामनगर ,काठमाडौँमा सम्पन्न भएको छ ।
यस अन्तरक्रियाका प्रमुख अतिथि ,वरिष्ठ साहित्यिक पत्रकार तथा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष नगेन्द्रराज शर्माले शङ्कर भारतीका उपन्यासमा सरलता,बोधगम्य , सहजता र हृदयस्पर्शी प्रवृत्ति रहेको छ । यसै प्रवृत्तिलाई आत्मसात् गर्दै उपन्यासकार भारतीले जीवनयापन गरिरहेका छन् भन्नुभयो ।
यसैगरी विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले उपन्यासकार शङ्कर भारती रचित ‘अनुपम देवता’लाई आ-आफ्नो दृष्टिकोणबाट अध्ययन गर्न सकिने छ ।यस उपन्यासको तेस्रो संस्करण प्रकाशन हुनु भनेको पाठकको मन जित्न सक्नु हो । उपन्यास आदर्शोन्मुख रहेपनि यथार्थ दृष्टिकोण प्रकट भएको अनुभूति हुन्छ भन्नुभयो ।
यसैक्रममा प्रा.डा.रामप्रसाद ज्ञवालीले ‘अनुपम देवता’ उपन्यासमा जे जस्तो विषयवस्तु छ,उपन्यासकार शङ्कर भारतीको जीवनचर्या झन् शालीन र मर्मस्पर्शी छ भन्नुभयो । यसैगरी उपन्यासकार शङ्कर भारतीले ‘अनुपम देवता’ उपन्यास लेखनको भोगाइ , सन्दर्भ र अनुभवलाई गम्भीरतापूर्वक सुनाउँदै आफूलाई फेरि नयाँ उपन्यास लेख्ने ऊर्जा भरिएको छ भन्नुभयो ।
यस ‘अनुपम देवता’को अन्तरक्रियामा डा. दीनबन्धु शर्मा, डा शान्तिमाया गिरी र डा.मधुसूदन लामिछानेले समेत समालोचकीय मन्तव्य राख्नुभयो ।
यस अन्तरक्रियामा देविका तिमल्सिना , डा दामोदर पुडासैनी ‘किशोर’, राधेश्याम लेकाली, गोविन्द घिमिरे ‘वेदमणि’ र पवन आलोकले शुभकामना मन्तव्य राख्नुभयो । यसैगरी वरिष्ठ निबन्धकार तथा पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न भएको ‘अनुपम देवता’ तेस्रो संस्करणको अन्तरक्रियामा नेपाल साहित्यिक पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार वियोगी बुढाथोकीले स्वागत मनतव्य ,विष्णुबहादुर सिंहले धन्यवाद ज्ञापन र कार्यक्रम सञ्चालन कवि तथा निबन्धकार श्रीबाबु कार्कीले गर्नुभयो ।